काठमाडौं, २३ भदौ । युट्युब च्यानलमार्फत कोरोना भाइरस संक्रमण बारे अफवाह फैलाई सार्वजनिक शान्ति भंग गरेको अभियोगमा प्रहरीले एक जना पक्राउ गरेकाे छ ।
अन्तिम विकल्प प्रा.लि.का संचालक ललितपुर महानगरपालिका-१४ नक्खिपोट बस्ने तेह्रथुम घर भएका ५१ वर्षीय सुबास सुब्बा लिम्बुलाई सोमबार पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।
उनले युट्युब च्यानलमा अन्तर्वार्ताको क्रममा कोरोना नै छैन सरकारले हावा पिटेको भन्दै कोरोना संक्रमितको मृत्यु पश्चात आफन्तलाई भेटन नदिई शरिरका विभिन्न अंगहरू (किडनी, आँखा, लिभर) झिकेर बेचबिखन गरी भष्ट्राचार गरिरहेको जनाएका थिए ।
सडकमा आन्दोलन गर्न सबै आउनु पर्दछ भन्ने जस्ता उत्तेजना फैलाउने, आम-सर्वसाधारणलाई दिगभ्रमित गराउने, विभिन्न व्यक्तिहरुलाई आक्षेप लगाउने अभिव्यक्तिहरू दिई सार्वजनिक शान्ति भंग गर्ने कार्यमा संलग्न उनलाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले ललितपुर नक्खिपोटबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
लिम्बुलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।















प्रतिक्रिया