१ कार्तिक २०८३, शनिबार

पद नरहे पनि ‘पावरफुल’ बन्दै युवराज खतिवडा !

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री (सरकारका प्रवक्त) डा. युवराज खतिवडाले मन्त्रिपरिषद् बैठकमा आज पदबाट राजीनामा दिने भएका छन् ।

राजीनामा दिएर पदविहीन बन्न लागेको डा. खतिवडा पदमुक्त भएपछि अझ शक्तिशाली बन्ने चर्चा चलेको छ । बालुवाटार स्रोतका अनुसार मन्त्रीबाट हटेलगत्तै उनलाई प्रधानमन्त्रीको सल्लाहकार टीममा समावेश गर्न लागिएको छ ।

मन्त्रीबाट हटे पनि उनी प्रधानमन्त्रीको टीममा जुनसुकै पदमा रहँदा एक मन्त्रीका रुपमा भन्दा ‘पावरफुल’ बन्ने अड्कल गरिएको छ ।

यसै पनि पछिल्लो समय क्याविनेटमा प्रधानमन्त्री ओलीका ‘विश्वासपात्र’ को पहिचान बनाएका खतिवडालाई हटाउन प्रधानमन्त्री अनिच्छुक थिए । तर, पार्टीभित्रको आन्तरिक सन्तुलन कायम गर्न पनि खतिवडालाई हटाउन बाध्य भएका प्रधानमन्त्री ओलीले बालुवाटारमा स्पेस दिन लागेका हुन् ।

सांसद नभएका व्यक्तिलाई पनि ६ महीनासम्म मन्त्री बनाउन मिल्ने संविधानमा भएको व्यवस्थालाई टेकेर राष्ट्रियसभा सदस्यको अवधि सकिए पनि ६ महीनाका लागि मन्त्रीमा कायम रहेका थिए ।

उनी गत फागुनमा राष्ट्रिय सभाको दुई वर्ष कार्यकाल सकिएपछि उनी ६ महीनाका लागि अर्थमन्त्रीमा दोहोरिएका थिए । सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने रिक्त राष्ट्रियसभा सदस्यमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई लैजाने निर्णय पार्टी सचिवालय बैठकले बिहीबार गरेको छ ।

केपी शर्मा ओली नेतृत्वको वर्तमान बहुप्रतिक्षित क्याविनेटमा अर्थमन्त्रीका रुपमा प्रवेश गरेका खतिवडा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएपछि सञ्चारमन्त्री र सरकारका प्रवक्ताको समेत जिम्मेवारी पाएका थिए ।

तर, पार्टीभित्रको सन्तुलन मिलाउन राजीनामा दिन बाध्य भएका खतिवडालाई प्रधानमन्त्री ओलीले आफ्नै वरिपरि राख्ने मनस्थिति बनाएका हुन् । पार्टीभित्रको विवाद साम्य भएपछि उनलाई थप जिम्मेवारी दिने विषयमा पनि ओलीले योजना बनाइरहेको स्रोतहरुको दाबी छ ।