१ कार्तिक २०८३, शनिबार

ढोरपाटन बाढीपहिरोले बगाएका १४ जनाको शव भेटियो, ४ जनाको सनाखत

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, १९ भदौ । बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार राती आएको बाढीपहिरोले बगाएकामध्ये १४ जनाको शव भेटिएको छ भने अझै दर्जनौं मानिस बेपत्ता छन् ।

शव भेटिएकामध्ये ४ जनाको मात्रै सनाखत भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डीएसपी राजेन्द्र रेग्मीले बताए । मृत्यु हुनेमा २६ वर्षकी केशमाया विक, ४५ वर्षको बिरे विक, २२ वर्षका जीवन विक र ११ वर्षीय डल्ले विकको पहिचान खुलेको उने बताए ।

सबै शव प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ ल्याइएको छ । पोस्टमार्टमपछि आफन्तलाई बुझाइने तयारी भइरहेको छ । मृतकहरूको शव ढोरपाटन नगरपालिका, बडीगाड गाउँपालिका, गुल्मीको चन्द्रकोट गाउँपालिका र मुसीकोट नगरपालिकासम्म भेटिएका छन् ।

शव कतै पुलको लठ्ठामा अड्केको अवस्थामा फेला परेको छ भने कतै खोला किनारको बालुवामा भेटिएका छन् । क्षतविक्षत अवस्थामा भेटिएका अधिकांश शव पहिचान गर्न कठिन भएको उद्दारका लागि घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।

बाढीले ढोरपाटन ९ स्थित लाकुरीबोट स्वास्थ्यचौकीको भवन, जनचेतना प्राविको ४ कोठे भवन, सरस्वती प्राविको २ कोठे भवन, भुजीखोला लघु जलविद्युत् आयोजनाको ५ ओटा शाखा मध्ये ४ ओटा भवन, ३ ओटा झोलुंगे पुल, एउटा जीप लगायत गाईवस्तु बगाएको छ ।

बाढी पहिरोले भुजीखोला तटीय क्षेत्रको भुसुण्डे, दुनेपोखरा, लाकुरीबोटमा ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएको छ । पहिरोले भूजीखोला थुनिँदा खोला बढेर तटीय क्षेत्रमा पसेर मानवीय तथा भौतिक क्षति पु¥याएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए । बेपत्ताहरूको खोजी कार्य जारी रहेको उनको भनाइ छ ।