
काठमाडौं, १६ भदौ । निषेधाज्ञाले पनि उपत्यकामा कोरोना संक्रमणको दर घटाउन नसकेपछि भोलिदेखि कुन मोडालिटी अपनाउने भन्नेबारे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अन्योलमा परेका छन् ।
काठमाडौंमा दुई हप्तादेखि जारी निषेधाज्ञा कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि देखिने गरी प्रभावकारी नबनेपछि यसबारे छलफल गर्न आज तीन वटै जिल्लामा सीडीओहरु भर्चुअल बैठकमा जुट्ने भएका छन् ।
काठमाण्डौका जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भर्चुअल बैठक बस्न लागेको हो
उपत्यकामा जारी निषेधाज्ञाको समय बढाउने कि नबढाउने विषयमा साझा धारणा बनाउन बैठकमा छलफल गरिने बताइएको छ । उपत्यकाका तीन वटै जिल्लामा भदौ ४ गतेदेखि निषेधाज्ञा जारी छ ।
जारी निषेधाज्ञाको समय बुधबार राती १२ बजेपछि अन्त्य हुँदैछ । तर, संक्रमण नियन्त्रणमा देखिने प्रभाव निषेधाज्ञाले नपारेपछि के उपाय अवलम्बन गर्ने भन्ने विषयमा पनि आज उनीहरुबीच छलफल हुने बताइएको छ ।
बैठकबाट निस्किने निष्कर्षबारे मंगलबार नै गृह मन्त्रालयलाई जानकारी गराइने र मन्त्रालयको सुझावपछि आवश्यक निर्णय लिइने उनीहरुको भनाइ छ ।















प्रतिक्रिया