६ कार्तिक २०८३, शुक्रबार

मैले प्रधानमन्त्री र ऊर्जामन्त्रीकै निर्देशनमा काम गरेको हुँ : कुलमान घिसिङ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ भदौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नौ पुनर्नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री एवम् ऊर्जामन्त्रीलाई लान्छना नलगाउन आग्रह गरेका छन् ।

उनको कार्यकाल सकिनै लाग्दा पछिल्ला केही दिनदेखि पुर्ननियुक्तीको विषयलाई लिएर राजनीतिक नेतृत्वमाथि नकारात्मक धारणा अभिव्यक्त भएको प्रति उनले त्यसो नगर्न आग्रह गरेका हुन् ।

घिसिङले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफूले हालसम्म प्रधानमन्त्री र उर्जामन्त्रीकै निर्देशनमा काम गरेको स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा उनले भनेका छन्, ’मेरो ४ वर्षे कार्यकाल सकिनै लाग्दा अर्को कार्यकालका लागि पुनर्नियुक्तिको विषयलाई लिएर सम्माननीय प्रधानमन्त्री र माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीलाई जोडेर बिगत केही दिनदेखि विभिन्न संचारमाध्यम, सामाजिक सञ्जाल र मेरो गलत एकाउन्ट खडा गरी सम्प्रेषण भइरहेका भ्रामक समाचार तथा सूचनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’ घिसिङले भनेका छन्, ‘मेरो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर आधार तथा तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगरिदिनु हुन अनुरोध गर्दछु ।’

नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले प्रधानमन्त्री नेतृत्वको सरकारको नीति निर्देशन एवं मार्गदर्शनले प्रभावकारी उपलब्धीहरु हासिल भएको उनले बताएका छन् ।

उनले लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिश्पर्धी संस्था बनाउन प्रधानमन्त्री र ऊर्जा मन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, कर्मचारीहरु र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसलाकै कारण सम्भव भएको जनाएका छन् ।

सबै नेपालीको घरमा उज्यालो पुर्याउने, ऊर्जा खपत बढाउने, उपभोक्तालाई गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् उपलब्ध गराउने, प्राधिकरणभित्र सुशासन कायम गर्दै प्रभावकारी सेवा संचालन गर्न प्रणालीलाई स्वचालित र डिजिटलाईजेसन गर्ने लगायत कार्यहरु गर्न प्राधिकरण सदैव क्रियाशील रहेको उनले जनाएका छन् ।