
-प्रतिक पौडेल
भैरहवा, ९ भदौ । रुपन्देहीको गैडहवा गाउँपालिका ३ का ५० वर्षीय पुरुष गत मंगलबार छतबाट खसेर गम्भीर घाइते भएका थिए ।
उनको टाउकोको नशामा समस्या देखिएकोले टाउकोको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको चिकित्सकहरुले आफन्तलाई बताएका थिए ।उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएका उनलाई भर्ना गरेर शल्यक्रिया गर्नुअघि पीसीआर जाँच गरिएको थियो ।
पीसीआर रिपोर्ट पोजेटिभ आएपछि थप उपचार जारी राख्नुपर्नेमा उनलाई मेडिकल कलेजले कोभिड १९ संक्रमण भएका कारण उपचार गर्न नसक्ने बताउँदै भैरहवाकै भीम अस्पताल पठाएको थियो ।
भदौ ५ गते संक्रमण पुष्टी भएको उनलाई भदौ ८ गते करिव ५ बजे तिर भीम अस्पतालमा उपचारका लागि लगिएको थियो ।
युसिएमएसका जनसम्पर्क अधिकृत शुसिल गुरुङका अनुसार आफुहरुको अस्पताल कोभिड डेडिकेटेड अस्पताल नभएकोले उनलाई उपचारको लागी कोभिड डेडिकेटेड अस्पतालमा सिफ्ट गरिएको हो ।
यता भिम अस्पतालले भने जनशक्ति नभएकाले उपचार हुन नसक्ने बताएपनि बुटवल स्थित कोरोना बिशेष अस्पतालमा ठाउँ नभएपछि संक्रमित ब्यक्तीका आफन्तले जोडबल गरेपछि अस्पतालले भर्ना लिएको भिम अस्पतालका कोभिड १९ फोकल पर्शन डा सुमित प्रजापतीको दावी छ ।
संक्रमित ब्यक्तीको भर्ना भएकै दिन राती उपचारका क्रममा मृत्यु भएको हो। ती पुरुषको सोमबार राती ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
भिम अस्पतालका अनुसार आइसियु भएपनि जनशक्ति अभाव रहेको छ । मृतकको परिवारलाई जानकारी गराएपनि अवस्था गम्भिर भएको र हेड इन्जुरीको बिरामी भएकोले हाइ रिक्स हुन्छ भनेरै कोभिड वार्डमा भर्ना गरी उपचार गर्दागर्दै राती ११ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
प्रदेश ५ सरकारले भैरहवाको भीम अस्पतालमा पनि कोरोना संक्रमितको उपचार गर्ने बताएपनि अस्पतालमा जनशक्ती अभावकै कारण एकजनाले ज्यान गुमाउनु परेको छ । अस्पतालमा आइसियु र भेन्टिलेटर संचालनमा भएको भए उनको ज्यान बच्न सक्ने थियो ।
भैरहवा भिम अस्पताल प्रदेश नं ५ सामाजिक विकास मन्त्री सुदर्शन बरालको नेतृत्वमा कोभिड १९ को उपचारको लागि कोभिड बिशेष अस्पतालको रुपमा छुट्याइएको छ ।
अस्पतालले २७ बेड कोरोना संक्रमितको उपचारका लागि व्यवस्था गरेको छ, जसमध्ये ५ बेडमा आईसीयू राख्ने गरी पुर्वाधार छ ।
अस्पतालमा ४ वटा भेन्टिलेटर पनि जडान छन् । तर विभागीय मन्त्रीकै नेतृत्वमा कोभिड १९ को लागि तय भएको अस्पताल दक्ष जनशक्ति नहुँदा आईसीयू र भेन्टिलेटर नै सञ्चालनमा छैन ।
अस्पतालमा सैनामैना निवासी एक जना थप संक्रमित आइसियुमा उपचार गर्ने भनेर रिफर गरिएपनि जनशक्ती अभावकै कारण जनरल वार्डमा राखेर उपचार गरिएको छ । ७० बर्ष भन्दा बढि उमेर भएकी दिर्घ रोग समेत भएको उक्त महिलाको अवस्था पनि नाजुक बन्दै गएको छ ।
भिम अस्पतालमा ‘आईसीयूका उपकरण छन्, तर चलाएर सेवा दिने जनशक्ति नहुँदा त्यतिकै थन्किएका छन्’ । आईसीयू सञ्चालनमा आउन नसकेपछि कोरोना संक्रमितलाई भर्ना दिन छाडिए पनि प्रदेश नं ५ को अन्य ठाउमा रहेका कोरोना बिशेष अस्पताल भरिन थालेपछि जनशक्ती अभावकै विच सोमवार देखि पुन कोरोनाको उपचार शुरु भएको हो ।
भिम अस्पतालमा सोमबारनै मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन गरिएको थियो । तत्कालिन मेडिकल सुपरिटेन्डेन्टन डा.नविन दर्नाललाई काजमा लुम्विनी प्रादेशिक अस्पताल सरुवा गरी बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.सकुन्तला गुप्तालाई मेसु बनाइएको छ ।
गुप्ता हाजिर हुन आइपुगेकी छैनन् । मेसु बिहिन रहेको अस्पतालमा सोमवार देखि शुरु भएको कोरोना उपचारको पहिलो दिननै लापरवाहीका कारण कोरोना संक्रमितले ज्यान गुमाउनु परेको बताइएको छ ।
अस्पतालमा जनशक्ती अभावमै सोमबारदेखि कोरोना उपचार दोस्रो चरणमा शुरु भएको छ । पहिलो चरणमा मेडिकल सुपरिटेन्डेन्ट डा.नविन दर्नालको नेतृत्वमा सफलता पूर्वक अस्पतालले कोरोनाको उपचार गरेको थियो ।
अस्पतालले पहिलो चरणमा ९८ जना कोरोना संक्रमितको सफल उपचार गरेर घर पठाएको थियो । अस्पतालमा आइसियु र भेन्टिलेटर चलाउन एक जना एनेश्थेसिया, फिजिसियन र दक्ष नर्स चाहिन्छ ।















प्रतिक्रिया