२९ आश्विन २०८३, बिहिबार

नेपाललाई चार स्वर्णसहित १७ पदक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1काठमाडौं, ४ चैत । प्रथम विश्व मार्सल आर्ट च्याम्पियनसिपअन्तर्गत उमा कुङफुतर्फ नेपाली खेलाडीले ४ स्वर्णसहित १७ पदक जितेको छ ।

४ स्वर्णका अलावा नेपालले थप ३ रजत र १० कांस्य पनि प्राप्त गरेको टिम व्यवस्थापक समेत रहेका उमा कुङफु संघका सचिव सिद्धार्थ लामाले मंगलबार जनाएका छन् ।

महिलाको ताइची २४ याङ स्टायलमा प्रज्ञा केसीले स्वर्ण जितिन् । पुरुष ताइचीतर्फ मणिराज मिक्छनले २४ याङ स्टायल तथा रमन राई चाम्लिङले १३ याङ स्टायलमा नेपाललाई स्वर्ण दिलाए ।

त्यस्तै पुरुषको ट्रेडिसनल प्याटर्नमा विकास लामाले स्वर्ण हात पारे । स्वर्ण विजेता मध्ये कुङफु सान्डाको ४५–४८ केजीमा प्रज्ञा र ३१.१–३४ केजीमा विकासले १–१ रजत तथा मणिराजले ५२.१–५६ केजी तथा रमनले ६०.१–६५ केजीमा १–१ कांस्य पनि प्राप्त गरे ।

विकासबाहेक स्वर्ण विजेतात्रय ऋत एकेडेमीमा अध्ययनरत छन् ।

कुङफु सान्डाकै पुरुषको ३१.१–३४ केजीमा सुवास अधिकारी, २५.१–३१ केजीमा देव देवकोटा, ६०.१–६५ केजीमा दावा लामा, ५१.१–६० केजीमा सुहन श्रेष्ठ, ७०.१–७५ केजीमा प्रकाश खत्री तथा ८०.१–८५ केजीमा अमिन तामाङले कांस्य हासिल गरे ।

त्यसैगरी, महिलाको ३८ केजीमा आयुष्मा श्रेष्ठले रजत तथा ३८ केजीमै श्रृष्टि श्रेष्ठले कांस्य जिते ।

थाइल्यान्डको बैंककमा च्याम्पियनसिप मार्च १२ देखि सुरु भएको थियो । च्याम्पियनसिप मार्च २२ तारिखसम्म सञ्चालन हुने भएपनि उमा कुङफुको प्रतिस्पर्धा भने सोमबारै सम्पन्न भएको हो ।

व्यवस्थापक सिद्धार्थ तथा खेलाडी प्रज्ञा, मणिराज र रमनसहितको चार सदस्यीय टोली मंगलबार स्वदेश फर्किसकेका छन् ।

१२ खेलाडीसहित १६ सदस्यीय नेपाली उमा कुङफु टोलीले च्याम्पियनसिपमा सहभागिता जनाएका थिए । बाँकी टोली टिकटका कारण बुधबार वा शुक्रबार स्वदेश आइपुग्ने सिद्धार्थले जानकारी दिए ।

उमा कुङफुमा नेपालसहित ९ राष्ट्र २ सय भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेको बताइएको छ । च्याम्पियनसिपमा भने समग्रमा उमा कुङफुसहित विभिन्न १२ खेलमा २९ राष्ट्र सहभागी छ ।

टोलीलाई उमा कुङफु संघका सदस्य सन्जित राई, मुख्य प्रशिक्षक दीपक श्रेष्ठ, ललितपुर उमा कुङफु संघका अध्यक्ष अच्यूत खड्का, ऋत एकेडेमीका विद्यार्थी, अभिभावकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थालमा मंगलबार स्वागत गरे ।