
काठमाडौँ, ६ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गतिरोध अन्त्यका लागि गठित ६ सदस्यीय कार्यदलले प्रतिवेदन बुझाएको छ ।
कार्यदलले शनिबार साँझ प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो ।
बालुवाटार स्रोतका अनुसार कार्यदलले प्रतिवेदन बुझाएको जनाएको हो ।
अध्यक्षद्वय प्रधानमन्त्री ओली र दाहालबीचको विवाद समाधानका लागि साउन ३० गते महासचिव बिष्णु पौडेलको नेतृत्वमा ६ कार्यदल गठन गरिएको थियो ।
एक साताभित्रै कार्यदलले सर्वसम्मत रुपमा सहमति गरि प्रतिवेदन तयार पारेको हो ।
कार्यदलद्वारा तयार प्रतिवेदनले महाधिवेसन विवाद समाधानको प्रमुख कदम रहेको संकेत गरेको छ । त्यस्तै, सरकार चलाउन आपसी छलफल र सहमतिलाई जोड दिइएको छ ।
कार्यदलले एकता महाधिवेशनअघि पार्टीले गर्नुपर्ने सवै काममा दुई अध्यक्षको व्यवस्थापन र सहमतीलाई केन्द्रमा राख्दै प्रतिवेदन बुझाएको छ ।
कार्यदलले बुझाएको प्रतिवेदनबारे अध्यक्षद्वयबीच छलफल हुने र सचिवालय बैठकमा पेस गरिने बताइएको छ ।
कार्यदलमा स्थायी कमिटीका नेताहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेका थिए ।
कार्यदलले प्रस्तुत गरेको सुझाव यस्ता छन् :
- प्रधानमन्त्री ओलीको राजीनामालाई स्थगित राख्ने र स्थायी कमिटीको एजेण्डामा छलफल गर्ने
- सैद्धान्ति र विवादित विषय महाधिवेशनबाट टुंग्याउने
- आगामी चैतमा महाधिवेशन गर्ने
- संघीय मन्त्रिपरिषद र प्रदेश सरकारमा हेरफेर गर्ने
- कोरोना संक्रमणको अवस्था सहज भएपछि केन्द्रीय समिति बोलाउने















प्रतिक्रिया