६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँको बानेश्वरमा गाली गलौजसहित स्वास्थ्यकर्मी बस्ने घर घेराउ

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ भदौ । काठमाडौँमा डाक्टर, नर्सलगायत स्वास्थ्यकर्मी बसेको घरमा स्थानीयले घेराउ गरेका छन् ।

शनिवार बिहान बानेश्वरस्थित मिलनचोकका स्थानीयले होस्टेल सञ्चालकलाई गाली गलौजसहित स्वास्थ्यकर्मीलाई नराख्न धम्क्याउँदै घर घेराउ गरेका हुन् ।

लर्ड बुद्ध बोइज एण्ड गर्ल होस्टलमा सिभिल अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी रहेका छन् । होस्टल सञ्चालक रोहित रानालाई स्थानीयको ५०/६० जनाको टोलीले धक्याउँदै स्वास्थ्यकर्मी नराख्न भनेका छन् ।

बलभद्र मार्गका टोल विकास समितिका अध्यक्ष सुर्दशन गौतम र सचिव दिनेश खड्काको नेतृत्वमा आएका स्थानीयले अनुमति बिना स्वास्थ्यकर्मी राखेको भनेर धम्क्याएका बताइएको छ ।

उनीहरुले घर घेराउ गर्दै होटल सञ्चालक रानामाथि दुर्व्यवहार गरेको बताइएको छ ।

बानेश्वरमा २ वटा होस्टेल सञ्चालन गरेका रानाले खाली भएको एउटा होस्टलमा भदौ ४ गतेदेखि केही स्वास्थ्यकर्मीलाई राखेका थिए । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई सुरक्षित रुपमा राख्नका लागि अस्पतालले उनीसँग आन्तरिक सहमति गरेको थियो ।

सोही अनुसार ४ गतेदेखि ४ जना स्वास्थ्यकर्मी होस्टलमा बस्न थालेका थिए । होस्टल सञ्चालक रानाले होस्टलमा बस्न दिएका स्वास्थ्यकर्मीहरु स्वस्थ रहेको र कार्यालयको काम सकेपछि आएर बस्ने बताए । शनिबार विहान भएको घटनाले आफूलाई मानसिक तनाव भएको राना बताउँछन् ।

स्थानीयको टोलीले राना तथा स्वास्थ्यकर्मीमाथि विभिन्न गाली गलौज गर्दै धम्क्याएका छन् । उनीहरुले स्वास्थ्यकर्मी राखेकोमा चेतावनी दिएका छन् । कोरोना महामारीमा विभिन्न ठाउँमा स्वास्थ्यकर्मी तथा संक्रमितहरुमाथि दुर्व्यवहार हुँदै आएको छ ।

यस किसिमको गतिविधि गर्नेलाई सरकारले कारवाहीको दायरामा ल्याएर स्वास्थ्यकर्मीको हौसला बढाउनुपर्ने विज्ञहरु बताउँछन् ।