
काठमाडौं, २७ साउन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संलग्न रहेको दल जनता समाजवादी पार्टीले अपसंस्कारको प्रदर्शन गरेको बताएका छन् ।
जनता समाजवादी पार्टीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलक्षित विज्ञप्ति जारी गरी ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रेस सल्लाहकार थापाले मंगलबार प्रेस विज्ञप्ति जारी गरी खेद प्रकट गरेका छन् ।
विज्ञप्तिमा प्रयोग भएको उक्त शब्द र टिप्पणीहरु अशिष्ट, पूर्वाग्राही, अत्यन्त दूराशयपूर्ण र खेदजनक भएको बताएका छन् ।
‘पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत ज़िम्मेदारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरको तरीका खासमा कुण्ठाग्रस्त गालीगलोज मात्र हो र सोचको दिवालियापन नै हो’, विज्ञप्तिमा भनिएको छ ।
राजनीतिमा विवाद, मतभेद र असहमतीहरू सबै पार्टीमा हुने रजसलाई स्वाभाविक नै मानिने भन्दै थापाले विज्ञप्तिमा लेखेका छन्, ‘त्यसै आधारमा यस स्तरको अपसंस्कारको प्रदर्शनबाट कहाँ पुगिन्छ ? सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयष्कर होला ।’
‘सिद्धान्त, नीति र कार्यक्रममा बहस गर्न नसक्ने निरूपाय व्यक्तिहरू नै आफ्नो स्वार्थका रोटी सेक्न नपाउँदा ऑंखा चिम्लेर अँध्यारो देख्छन् र उज्यालोको भर्त्सनामा जुट्छन्’, विज्ञप्तिमा थापाले लेखेका छन्, ‘जहाँसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई आलोचना, विरोध र गालीगलोज गरिएको सन्दर्भ हो, यो कुनै नौलो कुरा होइन । आफ्नो निहीत स्वार्थ पूरा गर्न उहाँलाई बाधक देख्नेहरूले विगत छ दशकयता यसो गर्दै आएको तथ्य स्पष्ट नै छ । त्यस्ता तत्वहरू इतिहासको गर्तमा सीमित भइसकेका छन् । अरूबाट निर्देशित कदम, गलत नीति, विचार र व्यवहारले कोही कसैलाई सफलता हासिल हुँदैन भन्ने जगजाहेर छ ।’ सिसाको घरमा बसेर ढुंगा हान्नेहरू आफै असुरक्षित र पतन हुनु अनिवार्य रहेको थापाको भनाइ छ ।
जागृति, चेतना, संस्कार र सदाचारका मानकहरू सम्बन्धित व्यक्तिअनुरूप नै व्यवहारमा अभ्यास गरिने र भिन्दा भिन्दै हुने यथार्थ हरेक समाजका सचेत व्यक्तिलाई अवगत नै रहिआएको थापाले बताएका छन् ।
राजनीतिक दलहरूले आफ्ना धारणा र विमति प्रष्ट्याउने गरी सरकारको आलोचना र विरोध गर्न सक्छन् । तर, राष्ट्रपति, प्रधानमन्त्री र जिम्मेवार पदाधिकारीविरूद्द प्रयोग गरिने अपमानजनक, तथ्यहीन, भ्रामक र गैरजिम्मेवार भाषाप्रति गंभीर आपत्ति प्रकट गर्नै पर्ने उनले विज्ञप्तिमा लेखेका छन् ।
‘जो सभ्य समाजको मूल्य र मानक विपरित रहेका छन् । तसर्थ जसपाको औपचारिक विज्ञप्तिमा प्रमप्रति प्रयोग गरिएको भाषा निन्दनीय रहेकोतर्फ सम्बन्धित सबैलाई स्पष्ट गर्दछु’, थापाले भनेका छन् ।
जनता समाजवादी पार्टी, नेपालको साउन २१ गतेदेखि २४ गतेसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले वर्तमान राजनीतिक परिस्थितिमाथिको छलफलबाट प्रधानमन्त्री केपी शर्मा ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको निष्कर्ष निकाले बताएको छ ।
पार्टीको बैठकपछि आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै जनता समाजवादी पार्टी, नेपालले भनेको छ, ‘मुलुक अहिले कोभिड–१९ को महाविपत्तिबाट मुक्त भइनसकेको अवस्थामा केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको छ । वर्तमान सरकार बनेदेखि नै संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतालगायत पक्षलाई कमजोर पार्ने षडयन्त्रसहित पहिचान र अधिकारका लागि जनताले उठाएका मागलाई जातीवादको रुपमा चित्रण गर्ने कार्य गरेर देशभित्र विभाजनको बीउ रोप्ने कार्य गर्दैछ ।’















प्रतिक्रिया