
काठमाडौं, २६ साउन । नेपाली कांग्रेसले वर्तमान सरकार विचौलियातन्त्रको कठपुतली र वर्तमान संकट समाधानमा गैरजिम्मेवार बनेको बताएको छ ।
देश कोभिड–१९ को संक्रमणको मारमा परिरहेको बेला नेकपाको सरकार सत्ताको खिचातानीमा रमाइरहेको कांग्रेसको अरोप छ । कांग्रेसको कोभिड–१९ सम्बन्धी अनुगमन समितिका संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले सोमबार एक प्रेस नोट जारी गर्दै सरकार तथा मन्त्री निकट र टाढाका आधारमा कर्मचारी राख्ने गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व फितलो भएको टिप्पणी समेत गरेका छन् ।
‘लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारहरुको इतिहासमा यस्तो संवेदनहीनता कहिल्यै देखिएको थिएन । भ्रष्टाचार, अनियमितता, दुरुपयोगको पर्याय बनेको वर्तमान सरकार विचौलियातन्त्रको कठपुतली बनेको छ’, प्रेस नोटमा उल्लेख छ ।
पछिल्लो दिनमा लगानी बोर्डमा गरिएको नियुक्ति यसको नाङ्गो रुप भएको कांग्रेसको ठहर छ । यसरी आफ्ना निजी स्वार्थपूर्ति गर्न रमाइरहेको वर्तमान सरकार र सत्ताधारी दलबाट जनताले कुनै आशा राख्ने ठाउँ नरहेको स्थितिमा पुगेको विज्ञप्तिमा उल्लेख छ ।
‘बढ्दो संक्रमणको कारण मुलुक अहिले स्वास्थ्य संकट र जिविकालाई जोखिममा पार्ने आर्थिक संकटको बीचमा छ । तर, संकट सम्वोधनमा भने सरकार अकर्मण्य, नालायक र गैर जिम्मेवार देखिएको छ’, विज्ञप्तिमा लेखिएको छ, ‘सरकारले अहिले वन्दावन्दीलाई खुकुलो बनाएको छ तर, संक्रमित र संक्रमण गर्न सक्ने व्यक्तिको पहिचान, पृथकीकरण र उपचार अपरिहार्य हुन्छ भने अर्को तर्फ उच्च जोखिममा रहेका व्यक्ति तथा समुदायको सुरक्षा आवश्यक हुन्छ । नेपाली कांग्रेसको निरन्तरको खबरदारीका बावजुद सरकारको उदासिनताले गर्दा यी कामहरु भएनन् । संक्रमण नियन्त्रण गर्न सकिने परिस्थिति हुँदाहुँदै पनि देशभरि कोभिड–१९ संक्रमण फैलँदै गएको छ ।’















प्रतिक्रिया