३० आश्विन २०८३, शुक्रबार

देश र जनतालाई केन्द्रविन्दुमा राखेर सिधा छलफल गरौं : नारायणकाजी श्रेष्ठ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाभित्रको विवाद मिलाउन सिधा र खुलमखुला छलफलको आवश्यक रहेको बताएका छन् ।

एउटै कुरालाई फरक समय र फरक ठाउँमा फरक–फरक तरीकाले प्रस्तुत गरिँदा समाधानको सट्टा समस्या चुलिएर गएको उनको भनाइ छ । सोमबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले भनेका छन्, ‘हाम्रो पार्टीभित्रको अहिलेको एउटा समस्या सिधा र खुला छलफल गर्नुको सट्टा भित्र एउटा कुरा, बाहिर अर्को कुरा र एक ठाँउमा एउटा कुरा, अर्को ठाँउमा अर्को कुरा गर्ने प्रवृत्ति पनि हो । त्यसले समस्या समाधान गर्न सहयोग गर्दैन बरु जटिल बनाउँछ ।’

उनले अगाडि लेखेका छन्, ‘त्यसैले पार्टी, वर्ग, आन्दोलन, देश र जनतालाई केन्द्रविन्दुमा राखी सिधा, खुला र स्प्ष्टरुपमा छलफल गरौँ र सकारात्मक निकास निकालौं । पार्टी एकताको रक्षा गरौं, समाजवादउन्मुख सामाजिक–आर्थिक रुपान्तरण गर्दै समाजवादको बाटोमा अघि बढौं ।‬’

प्रवक्ता श्रेष्ठले कम्युनिष्ट पार्टीको उद्देश्य समाजमा आजसम्मको सर्वोत्तम लोकतन्त्रको अभ्यास गर्नु, गराउनु भएकाले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुनिश्चित हुनु पहिलो शर्त भएको बताएका छन् ।

‘नेकपाभित्र अन्तरपार्टी जनवाद, छलफल, बहस र अन्तरसंघर्षलाई पार्टीको जीवन र चालक शक्ति भनिन्छ’, उनले लेखेका छन्, ‘अन्तरसंघर्षलाई स्वस्थ र रुपान्तरणमुखी ढंगले सञ्चालन गर्नाले विचारको परिमार्जन एवं विकास, संगठनको व्यवस्थापन, परिचालन एवं ‪सुदृढीकरण र सामाजिक रुपान्तरणको क्रान्तिकारी उदेश्यमा योगदान पुर्याउँछ । अन्तरसंघर्षलाई सार्थक निष्कर्षमा पुर्‍याउन वैचारिक, सैद्धान्तिक, राजनीतिक, प्रवृत्तिगत र मुद्दागतरुपमा सिधा, खुला र स्पष्ट छलफल गर्ने कार्यशैली अख्तियार गर्नुपर्छ ।’