
काठमाडौं, १८ साउन । साउन ११ गतेयता एक हप्ताको अन्तरालमा प्रहरी प्रधान कार्यालयभित्रै विभिन्न विभागमा रहेर काम गर्ने ७२ जना प्रहरी अधिकारीहरुमा कोरोना भाइरस संक्रमण देखिएको छ ।
पहिलोपटक साउन ११ गते प्रहरी मुख्यालको सञ्चार शाखामा रही कार्यरत ४ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । ४ जनाको सम्पर्कमा रहेका अन्य प्रहरी अधिकारीहरुमा कन्ट्र्याक्ट ट्रेसिङ गर्दै जाँदा शनिबारसम्म ७२ जना संक्रमित फेला परिसकेका छन् । अझै केहीको रिपोर्ट आउन बाँकी रहेको कार्यालयको भनाइ छ ।
तर, अधिकतम स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदै काममा खटिएका प्रहरी अधिकारीहरुमा कहाँबाट कसरी कोरोना सल्कियो र फैलियो भन्ने विषय पनि अहिले प्रहरीले खोजिरहेको छ । सुरुमा संक्रमण पुष्टि भएका प्रहरी अधिकारीहरुलाई केन्द्रित गरेर प्रहरीले यसबारे खोजबिन गरिरहेको बताएको छ ।
तर, एउटा गम्भीर तथ्य र कारणचाहिँ प्रहरीले अहिले नै पत्ता लगाइसकेको छ ।
सुरुमा कोरोना संक्रमित हुनेमध्येका १ जना चालक हुन् । उनी काठमाडौं उपत्यकामा हुने विभिन्न विरोध तथा समर्थनका जुलुस, सभाको सुरक्षा तथा नियन्त्रणका लागि खटिने प्रहरीका लागि गाडी चलाउँथे ।
असार अन्तिम साता नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भएको थियो । प्रधानमन्त्री ओलीका समर्थकहरुले माइतीघर मण्डलामा ‘ओलीलाई प्रधानमन्त्रीबाट हटाउन हुन्न’ भनेर जुलुस निकालेका थिए ।
त्यो जुलुसको सुरक्षा तथा नियन्त्रणका लागि पनि तिनै प्रहरी खटिएका थिए । जो प्रहरी प्रधान कार्यालयमा कोरोना भाइरस संक्रमित हुने पहिलो व्यक्ति हुन् ।
यस आधारमा प्रहरीले ती चालकलाई माइतीघर मण्डलामा निस्किने जुलुसहरुबाट कोरोना संक्रमण भएको हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालेको प्रहरी स्रोतको भनाइ छ ।













प्रतिक्रिया