काठमाडौँ, १० साउन । सेन्ट जेभियर्स कलेजमा बीबीएस पढ्ने प्रशान्त सिंह ठकुरी नक्कली नोटको कारोबार गरेको अभियोगमा पक्राउ परेका छन् ।
अनलाइनमा बेच्न राखिएको स्मार्ट फोन किन्दा २२ वर्षीय ठकुरी पक्राउ परेका हुन् ।
अनलाइनको विज्ञापनमार्फत साढे २० हजार रुपैयाँमा मोबाइल किन्ने योजनाअनुरुप ठकुरीले मोबाइल किनेका थिए ।
हाइप्रोफाइल परिवारका ठकुरी मोबाइल किन्न कार चढेर आएर खाममा पैसा तिरेर गएका थिए ।
मोबाइल बेच्नेले खामबाट पैसा झिक्दा नक्कली भएको आशंका गर्र्दै महानगरीय प्रहरी वृत्त स्वयम्भुमा निवेदन दिए ।
प्रहरीले प्रशान्तलाई मोबाइल किनेको केहीबेरमै १९ हजार नक्कली नोटसहित पक्राउ गर्यो ।
नेपालगञ्ज उप–महानगरपालिका–३ घरबारीटोल स्थायी घर भएका प्रशान्तले घरमै कलर प्रिन्टरबाट नक्कली नोट छापेको बताएका छन् । प्रशान्तले दिएको २० हजार ५ सय मध्ये १ हजार दरका १९ वटा नोट नक्कली रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।