काठमाडौँ, ९ साउन । वीरगञ्जको कोरोना विशेष अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना पोजेटिभ देखिएको छ ।
यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।
नारायणी अस्तापलमा गरिएको परीक्षणमा बारा परवानीपुर गाउँपालिका ४ की १७ वर्षीया मृतक युवतीको पीसीआर परीक्षण गर्दा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
अस्पतालमा शंकास्पद कोरोना संक्रमितको रुपमा उपचार गरिरहेकोमा शुक्रबार अपरान्ह मृत्यु भएको जनाइएको छ । त्यसैगरी, अस्पतालको प्रयोगशालामा शुक्रबार उनीसहित थप ९ जनामा कोरोना संक्रमण देखिएको छ ।
मृतक युवतीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि वुधबार नारायणी अस्पताल भर्ना भएकी उनलाई वीरगञ्ज हेल्थ केयर लगिएको थियो ।
त्यहाँ आरडीटी गर्दा रिपोर्ट पोजेटिभ आएपछि गण्डकी कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारका क्रममो उनको शुक्रबार मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
उनमा स्क्रब टाइफससमेत पोजेटिभ देखिएको चिकित्सकले बताएका छन् ।
उनको उपचारमा संलग्न ५ जना कर्मचारीलाई क्वारेन्टिनमा राखिएको र अस्पतालको इमर्जेन्सी सिल गरेर अर्कै ठाउँबाट सेवा दिइरहेको वीरगञ्ज हेल्थ केयर अस्पतालले जनाएको छ ।