काठमाडौँ, १ चैत । सिनियरतर्फको एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा क्षेत्र नं. १ काठमाडौँ र क्षेत्र नं. ५ नेपालगन्ज विजयी भएका छन् ।
कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा काठमाडौँले क्षेत्र नं. ४ भैरहवालाई चार विकेटले हरायो । यो काठमाडौँको दुई खेलमा शतप्रतिशत जित हो ।
पुल्चोक इन्जिनियरिङ कलेजको मैदानको अर्को खेलमा नेपालगन्जले क्षेत्र नं. १ विराटनगरलाई तीन विकेटले स्तब्ध पा¥यो । जितले नेपालगन्जलाई समूह ए मा तेस्रो स्थानमा लगेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले ४४.१ ओभरमा खेल्दै सबै विकेट गुमाउदै १८० रनको सामान्य पारी खेलेको थियो । जवाफी ब्याटिङमा आएको काठमाडौँले ३०.३ ओभरमै ६ विकेटको क्षतिमा २४९ सजिलै लक्ष्य पूरा ग¥यो ।
प्लेयर अफ द म्याच घोषित काठमाडौँका प्रकाश विष्टले ६२ बलमा ६५ रन बनाएका थिए भने आदिल खानले अविजित रहँदै ६० रन जोडे । त्यस्तै, प्रशन्न शाक्यले २०, भूपेन्द्र थापाक्षेत्रीले आठ तथा किरण बुढाले अविजित चार रन बटुलेपछि काठकाडौँको सहज जीत निश्कियो
यसअघि भैरहवाका सौरभ खनालले अर्धसतकको पारी खेल्दै ५० रनको पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।
निर्मल थापाले ३७ तथा निश्चल चौधरीले ३३ रन बनाए भने अन्य ब्याट्सम्यानले आशलाग्दो प्रदर्शन नगर्दा भैरहवाले राम्रो लक्ष्य दिन सकेन ।
भैरहवालाई सामान्य स्कोरमा समेट्न काठमाडौँका रुपेश श्रीवास्तव र सुदीप शर्माले तीन–तीन, उज्वल थापाले दुई तथा रितेश सिंहले एक विकेट लिए ।
बलिङमा पनि सामान्य प्रदर्शन भएको भैरहवाका दीपेन्द्र यादव र सुशन भारीले दुई–दुई तथा सौरभले एक विकेट लिएका थिए ।
अर्को खेलमा पनि टस हारेर ब्याटिङ गरेको विराटनगरले सबै विकेट गुमाएर ४३.४ ओभर खेल्दै २२४ रनको मध्य लक्ष्य दिएको थियो । जवाफी ब्याटिङका लागि आएको नेपालगन्जले ४८.५ ओभरसम्म खेल्दै लक्ष्य भेटायो ।
नेपालगन्जको जितका लागि प्रज्वल शाहीले लिएको पाँच विकेट महत्वपूर्ण भए पनि राजवीर सिंह र सुवेन्दु पाण्डेले दुवैले अर्धसतकीय पारी खेलेपछि राजवीर प्लेयर अफ द म्याच बन्नुभयो । राजवीरले ७५ तथा सुवेन्दुले ५९ रन बनाएपछि नेपालगन्जको आत्मबल बढ्यो ।
त्यस्तै नेपालगन्जको जीत सुनिश्चित गर्नका लागि अमरसिंह रौतेलाको २० र आकाश विष्टको अविजित १८, विश्व शर्माको १२, प्रज्वलले ११, अनुपम सिंहको नौ र प्रवीन गिरीको एक रनको योगदान रह्यो ।
यसअघि विराटनगरका रवि रोयले ४४ बलमा ५६ रन बनाए पनि टोलीलाई जिताउन सक्नुभएन । त्यसैगरी, सिद्धान्त लोहनीले ४६, लाक्पा लामाले अविजित २७, मेहबुब आलमले २० रनको पारी खेले पनि अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।
प्रज्ज्वलले लिएको पाँच विकेटबाहेक अविनाश बोहराले दुई तथा सिद्धान्तराज शाहीले एक विकेट लिए ।
विराटनगरका ललित राजबंशीले चार, पुष्प थापाले दुई तथा मो हजरत अलीले एक विकेट लिएका थिए ।
दुवै खेलका प्लेयर अफ द म्याचले डोमियर सपिङ एन्ड सुटिङ सेन्टरको तर्फबाट रु. तीन हजार बराबरको गिफ्ट ह्याम्पर र ट्रफी प्राप्त गरेका थिए ।
प्रतियोगिताअन्तर्गत सोमवार टियू मैदानमा क्षेत्र नं. ६ बैतडी र क्षेत्र नं. ९ धनगढी तथा पुल्चोकमा त्रिभुवन आर्मी क्लब र क्षेत्र नं. २ वीरगन्जबीच भिडन्त हुनेछ । रासस















प्रतिक्रिया