काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारमाथि लागेको दुर्व्यवहार र धम्कीसम्बन्धी आरोपबारे आन्तरिक छानबिन तीव्र बनाएको छ। यसक्रममा छानबिन समितिले प्रकरणसँग सम्बन्धित सामग्री संकलनका लागि जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठसँग सहयोग मागेको छ।
अधिवक्ता हरिचन्द्र भट्टराई नेतृत्वको छानबिन समितिले बिहीबार जनआस्थाको कार्यालय पुगेर सार्वजनिक अडियो प्रकरणसँग सम्बन्धित अडियो, भिडियो तथा कागजातहरू संकलन गरेको श्रेष्ठले बताएका छन्। उनका अनुसार समितिले संकलित सामग्री आवश्यक प्रक्रिया पूरा भएपछि फिर्ता गर्ने जनाएको छ।
पूर्वन्यायाधीश लेखनाथ पौडेल नेतृत्वको पार्टीको केन्द्रीय अनुशासन आयोगले गठन गरेको समितिले घटनाको सत्यतथ्य पत्ता लगाउन प्रमाण संकलन गरिरहेको हो।
यसअघि रास्वपाले असोज २७ गते सुनारलाई छानबिनको निष्कर्ष नआएसम्म सांसदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको थियो। पूर्वराज्यमन्त्रीसमेत रहेकी एक महिलालाई धम्की दिएको र अपमानजनक भाषा प्रयोग गरेको भनिएको अडियो सार्वजनिक भएपछि पार्टीले आन्तरिक अनुसन्धान अघि बढाएको हो।
जनआस्थाका सम्पादक श्रेष्ठले छानबिन निष्पक्ष रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्दै कुनै दबाब वा हस्तक्षेपबिना सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताएका छन्।















प्रतिक्रिया