७ मंसिर २०८३, सोमबार

सर्वोच्चको ‘गरिमा गिराउने’ एउटा आदेश

77.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्वोच्चका न्यायाधीश सपना मल्ल र मनोजकुमार शर्मा

–विनोद ढकाल/दैनिक नेपाल

काठमाडौं, ३ साउन ।  कोरोनालाई कारण देखाउँदै हालै गरेको एउटा आदेशले सर्वोच्च अदालतको गरिमा गिराएको छ । उक्त आदेशले धनीलाई कानुन फितलो र गरिबका लागि न्याय महँगो भएको प्रतीत गराएको छ ।

बुढानीलकण्ठमा अत्यधिक मदिरा सेवन गरी सवारी चलाएर महिलाको ज्यान लिएको घटनाका धनाड्य अभियुक्त पृथ्वी मल्ललाई थुनामा राख्दा कोभिड–१९ संक्रमणको जोखिम हुने भन्दै सर्वोच्च अदालतले धरौटीमा छाड्ने आदेश दिएको हो ।

‘विशेष अवस्था वा मुद्दा भएको भए यसमा कारण खोज्ने र सर्वोच्चको गरिमामाथिको प्रश्न हुने थिएन, यस्ता अनेक मुद्दामा सजाय खेप्न धेरै छन्’, कानुनका जानकार भन्छन् ।

जिल्ला र उच्च अदालतको आदेश उल्ट्याउँदै मोजमस्ती गरी मादक पदार्थ सेवनसहित सवारी चलाएर महिलाको ज्यान लिएका अभियुक्त मल्लको घटना सर्वाधिक चर्चामा थियो ।

३१ असारमा न्यायाधीशद्वय सपना प्रधान मल्ल र मनोजकुमार शर्माको इजलासले थुनामुक्त गर्न दिएको आदेश सर्वसाधारणका नजरमा विवादीत बनेको छ । सामाजिक सञ्जाललगायतका विभिन्न फोरममा न्यायाधीशद्वय र स्वयम् सर्वोच्च अदालतकै पनि आलोचना हुन थालेको हो ।

अभिनेत्री परमिता राणासहित मोजमस्ती गरेर फर्किने क्रममा काठमाडौंको बुढानीलकण्ठमा मल्लले अत्यधिक मदिरा सेवन गरी चलाएको कारको ठक्करबाट २०७६ मंसीरमा साधारण महिला लीला देवकोटाको ज्यान गएको थियो । मल्ल पुर्पक्षका लागि थुनामा थिए ।

कतिपयले अभियुक्त मल्लको मुद्दा न्यायाधीश सपना मल्लले हेर्न नहुने तर्क पनि गरेका छन् । नातेदार हुनसक्ने भएकाले सार्वजनिक बहसमा तानिए पनि उनीहरूबीच नाता छ या छैन भन्ने स्वतन्त्र पुष्टि हुन सकेको छैन । सम्बन्धित पक्षसँग यस विषयमा बुझ्ने प्रयत्न गर्दा सम्पर्क हुन सकेन ।

मादक पदार्थ सेवन गरी सतर्कता नअपनाई चलाएको कारको ठक्करबाट निर्दोष व्यक्तिको ज्यान गएको भन्दै अदालतले उनलाई थुनामै राख्नुपर्ने आदेशलाई मल्लका वकीलले उच्च अदालत पाटनमा लगे पनि थुनामै पठाउनुपर्ने ठहर गरिएको थियो ।

न्यायाधीशद्वय मल्ल र शर्माको इजलासले मल्ल डिप्रेसन र दमको बिरामी रहेको तथा कोभिड–१९ को उच्च जोखिममा रहेको बताउँदै ५ लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएपछि सर्वोच्चको गरिमामाथि प्रश्न उठेको हो ।

सर्वोच्च अदालतको आदेश

अमेरिकामा अध्ययन गरिरहेका पृथ्वी मल्ल २३ मंसीर २०७६ मा स्वदेश फर्किएपछि साथीहरूसँगै रमाइलो गर्न हिँडेका थिए ।

२७ मंसीरमा बा१४च ६१२३ नम्बरको कार पृथ्वी करिश मास्केसहित ९ बजे ठमेलस्थित केसिज रेष्टुराँमा साथी भेट्न गएका उनीहरू त्यहाँबाट रातको साढे १ बजे एलओडी क्लबमा पुगे । ठमेलस्थित सेनेठ क्लबमा करिशका दुई जना केटी साथीहरू परमिता राणा र मनिषालाई भेटे । परमिता नेपाली फिल्म क्षेत्रकी अभिनेत्री हुन् । उनले उक्त घटनामा आफू सहभागी रहेको स्वीकार्दै आत्माआलोचना गरेको सामाजिक सञ्जालमार्फत जानकारी समेत दिएकी थिइन् ।

घरतर्फ फर्कंदा सडकको विपरीत दिशामा फुटपाथमा हिंड्दै गरेकी लीला देवकोटालाई ठक्कर दियो । देवकोटाको घटनास्थलमै मृत्यु भयो । यो प्रकरणलाई प्रहरीसँग मिलाउने कोशीशमा केही दिन गुपचुप समेत राखिएको थियो ।

प्रहरीमा मल्लले रातभरको अनिद्राले झ्याप्प निदाएपछि आफूले चलाएको कार अनियन्त्रित भई सडकको पल्लो छेउमा हिडिरहेकी बटुवालाई ठक्कर दिन पुगेको बयान दिए । तर प्रहरीले मेडिकल रिपोर्ट समेत बनाएपछि पृथ्वीले मदिरा सेवन गरेकोसहितका अन्य साथीको बयानले मुद्दा चलाउन सजिलो भयो ।

उनका साथी करिश मास्केले ठमेलमा भेट भएका परमिता राणा र मनिषालाई दुर्घटनापछि कारबाट निकालेर पठाएको र आफूहरू त्यहीं बसेको बयान दिएका थिए । ग्रिनभ्याली रिसोर्टका सुरक्षागार्डले पनि चारै जना व्यक्तिहरू मादक पदार्थ सेवन गरी आएको बयान दिएका थिए ।

२३ पुस २०७६ मा जिल्ला अदालतले पृथ्वीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो । उच्च अदालतमा थुनामा नबस्नका लागि पृथ्वीका तर्फबाट निवेदन दिइयो, तर जिल्लाकै आदेश सदर भयो ।

तर सर्वोच्चमा पुग्नासाथ ३१ असारमा सपना मल्ल र मनोजकुमार शर्माको इजलासले कोभिड–१९ महामारीको जोखिमको साधारण विषयमा धरौटीमा छाड्न आदेश दिएको हो ।

पृथ्वी, कशिस, परमिता र मनिषा

प्रहरीले मल्ललाई ३ देखि १० वर्षसम्मको कैद सजाय माग गरेको छ । मल्ल सर्वोच्च अदालतले मागेको ५ लाख धरौटी बुझाएर तारेखमा छुटेका छन् । कार्पेट काराखानामा काम गर्ने लीलाका श्रीमान, दुई छोरी र एक जना छोरा छन् ।

‘महामारीको मौका पारी धनाड्यले जसरी पनि कानुनलाई उपयो गर्न सक्ने’ भनी आलोचना भएको छ । खासगरी न्यायाधीश मल्ल र शर्माले यस्तो आदेश दिँदा न्यायमाथि नै प्रश्न उठ्नसक्ने शंका, अड्कल र विश्लेषण हुन थालेको छ ।