५ कार्तिक २०८३, बिहिबार

टोखाका रामबाबु अपहरणमा जग्गा बैना विवाद र पूर्वप्रहरीको सहयोग रहेको खुलासा

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २ साउन । काठमाडौँको टोखा बस्ने रामबावु शाहलाई जग्गा बैना विवादमा अपहरण खुलेको छ ।

धनुषा घर भएका शाहलाई शुक्रवार बिहान ८ बजेतिर टाटासुमोमा आएको एउटा समूहले नियन्त्रणमा लिएर भक्तपुरको लोकन्थलीमा लगेर बन्धक बनाएका थिए ।

भक्तपुर, लोकन्थलीस्थित एक हार्डवेयर पसलमा बन्धक बनाइएको उनलाई प्रहरीले उद्धार गरेको हो ।

अपहरणमा संलग्न आशालाल प्रजापति, पुरुषोत्तम गिरी र हिराकाजी कुमालसहित सात जनालाई नियन्त्रणमा लिइएको अपराध महाशाखाका प्रमुख (एसएसपी) दिपक थापाले जानकारी दिए ।

रामबावुकी दिदी सुमित्रादेवी शाहको नाममा रहेको लोकन्थली र जडिबुटी बीच मनोहरा फाँटमा ८ आना जग्गा बेच्न सुमित्रादेवीले रामबावुलाई वारेस (अधिकार) दिएकी थिइन् ।

लोकन्थलीका आशालाल प्रजापतिले ०७६ माघ ८ मा प्रतिआना ४६ लाखको दरले किन्नेगरी बैना गरे । बैना बापत आशालालले २५ लाखको चेक दिए ।

सोही जग्गा आशालालले सिञ्चाई विभाग जावलाखेलमा कार्यरत ईन्जिनियर अशोककुमार सिंहलाई बिक्री गर्नेगरी ३२ लाख बैना लिए ।  तर, रामबावुले जग्गा पास गरिदिएनन् । रामबावु सम्पर्कविहिन भएपछि आशालाल र अशोककुमार सिंहको बैना रकम जोखिममा पर्यो ।

बैना रकम जोखिममा परेपछि आशालाल धनुषा बस्ने सावित्री गिरीसँग भेटे जसले रामबाबुसँग चिनजान गराएकी थिइन् । रामबाबुलाई निकै अनुरोध गर्दा पनि जग्गा पास नगरिदिएपछि सावित्रीले नै गाडी पठाएर अपहरण गर्न भनेको खुलेको छ ।

अपहरणमा पूर्व प्रहरीको समेत सहयोग रहेको जनाइएको छ । सुमोमा लिएर गएका पुरुषेत्तम गिरी र हिराकाजी कुमालले टोखा पुगेर रामबावुलाई गाडीमा राखे, अनि लोकन्थलीमा आशालालको दिव्यश्वरी हार्डवेयरमा पुर्याएर बन्धक बनाए ।

अपहरणमा संलग्न हिराकाजी कुमाल अवकाशप्राप्त प्रहरी सहायक निरीक्षक (असई) हुन् । पूर्व प्रहरीको सहयोगमा अपहरण गरेपछि आशालालको मोवाईलबाट रामबावुको छोरालाई फोन गरेर ‘२५ लाखको चेक’ फिरौती मागे ।

त्यसपछि रामबाबुको छोराले प्रहरीलाई खबर गरेपछि घटना खुल्न आएर उनको उद्धार भएको तथा संलग्न ७ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।