काठमाडौँ, २९ फागुन । नारी दिवसको अवसर पारेर सरकारले अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गर्दै देशको नाम चिनाउन सफल महिला खेलाडीहरुलाई नगद तथा कदरपत्रसहित सम्मान गरेको छ ।
आज राष्ट्रपति भवन शितलनिवासमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा राष्ट्रपति डा रामवरण यादवले तेक्वान्दो खेलाडी सङ्गीना बैद्यलाई रु १५ लाखको चेक प्रदान गर्नुभयो ।
यसअघि मन्त्रीपरिषद्ले दक्षिण एसियाली खेलकुद सागमा दुई स्वर्ण, एसिया प्यासिफिक खेलकुदमा एक स्वर्ण पदक तथा ओलम्पिकमा छनोट हुन सफल सङ्गीनाको योगदानको कदर गर्दै नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो ।
कार्यक्रममा एसियाली प्रतिस्पर्धामा काश्य जितेकी साम्बो खेलाडी भगवती माझीलाई एक लाख, श्रीलङ्कामा भएको पहिलो दक्षिण एसियाली महिला भलिबल र पाकिस्तानमा सम्पन्न तेस्रो महिला साग फुटबलका उपविजेता टिम तथा साग फुटबल विजेता १४ वर्ष मुनिको टिमलाई पनि सम्मान गरियो ।
ऊर्जामन्त्री राधा ज्ञवाली, युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल तथा सचिव दीपेन्द्रनाथ शर्मालगायतले तीनै टिमका खेलाडी, मुख्य र सहायक प्रशिक्षक, व्यवस्थापक तथा पदाधिकारीलाई जनही २५–२५ हजार प्रदान गरेर सम्मान गर्नुभयो ।
यस्तै, कञ्चनपुर जिल्ला खेलकुद विकास समितिमा कार्यरत भलिबल प्रशिक्षक जगदीश प्रसाद भट्टलाई पनि नगदसहित सम्मानित गरिएको छ । विगत दुइ दशकदेखि राष्ट्रिय अन्तराष्ट्रिय भलिबल प्रतियोगिता खेलेका भट्ट अहिले राष्ट्रिय टिमका प्रशिक्षक छन् ।
सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको खेलमा योगदान दिएका प्रशक्षिक भट्टलाई सरकारले योगदानको कदर गर्दै राष्ट्रपतिबाट सम्मानित गरेको हो ।
प्रशिक्षकले भट्टले भलिबल महिला राष्ट्रिय टिममा कञ्चनपुरबाट ७ जना खेलाडी उत्पादन समेत गरेका छन् । गत महिना काठमाडौंमा सम्पन्न भलिबल प्रतियोगितामा नेपाल दोस्रो भएको थियो ।
नेपाली क्रिकेट टिमलाई डिभिजन–३ को उपाधि जिताएका तत्कालिन प्रशिक्षक सुदूरपश्चिमको अछाम घर भएका जगतबहादुर टमाटालाई पनि सरकारले एक लाख प्रदान गरेको छ । यसअघि प्रशिक्षक टमाटा क्रिकेट टिम सम्मानित हुँदा छुट्नुभएको थियो ।
सम्मानित खेलाडीलाई सम्बोधन गर्दै राष्ट्रपति यादवले आधुनिक युगमा देशलाई चिनाउने माध्यम खेलकुद भएको बताउँदै भन्नुभयो, “सगरमाथा, गौतम बुद्ध, पशुपतिनाथ, जानकी माता र वीर गोर्खालीले चिनाएको देशलाई अब खेलकुदले चिनाउनुपर्छ, त्यसमा पनि तपार्इँहरुजस्ता महिला खेलाडीहरुको योगदान अझ महत्वपूर्ण हुन्छ ।”
राष्ट्रपति यादवले कम भौतिक पूर्वाधार र विभिन्न कठिनाइका बाबजुद महिला खेलाडीहरुले पदक जित्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो ।
युवा तथा खेलकुद मन्त्री पौडेलले नेपाली समाजमा नारीलाई देवी, माता, भगवती, सरस्वती, लक्ष्मीलगायतका उपमा दिएर पूजा गर्ने गरेको स्मरण गर्दै महिला खेलाडीलाई सम्मान गर्न पाउदा गर्व लागेको बताउनुभयो ।















प्रतिक्रिया