काठमाडाैं, ६ असार । लगानी बोर्ड नेपालले झण्डै २ खर्ब रुपियाँको वैदेशिक लगानी स्वीकृत गरेको छ ।
शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बोर्ड बैठकले १ खर्ब ८५ अर्ब ४३ करोड रुपैयाँको वैदेशिक लगानी स्वीकृत गरेको हो । यीमध्ये पाँच वटा जलविद्युत र २ वटा सिमेन्ट कारखानाको लगानी रहेको छ ।
३ सय २७ मेगावाटको माथिल्लो मर्स्याङ्दी जलविद्युत आयोजनाको लागि ७८ अर्ब ६८ करोड रुपैयाँ वैदेशिक लगानीलाई स्वीकृति दिएको छ ।
४२ दशमलव ९ मेगावाटको आँखुखोला जलविद्युत आयोजनाको लागि ६ अर्ब ३० करोड, ५७ मेगावाटको म्याग्दीखोला जलविद्युत आयोजनाको लागि १० अर्ब ३१ करोड, ९७ मेगावाटको इसुवाखोला जलविद्युत आयोजनाको लागि १३ अर्ब ५७ करोड र १ सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युतको लागि २८ अर्ब ६ करोड रुपैयाँको वैदेशिक लगानी स्वीकृत भएको छ ।
दाङ सिमेन्ट इन्डस्ट्रिजको लागि ३२ अर्ब ५० करोड र सम्राट सिमेन्ट परियोजनाको लागि १५ अर्ब ५ करोड रुपैयाँ वैदेशिक लगानी पनि स्वीकृत भएको छ ।
लगानी बोर्डको बोर्ड बैठकले बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा २० मेगावाट स्टोरेज क्षमतासहितको १५ मेगावाटका २ वटा सौर्य उर्जा परियोजनाको लागि अध्ययन गर्न राइजेन इनर्जी सिंगापुरलाई सर्वेक्षण अनुमति दिएको छ । यो परियोजना सार्वजनिक निजी साझेदारी मोडलको परियोजना हो ।















प्रतिक्रिया