
काठमाडौं, २९ जेठ । नेपालको अन्तिम राजा भनिएका ज्ञानेन्द्र शाह र परिवारका सदस्य नागरिकस्तरको सार्वजनिक जीवनमा देखिन थालेपछि चर्चा चुलिन थालेको छ ।
पूर्वराजा शाह आफैं सामाजिक सञ्जाल ट्वीटरमा सक्रिय रहनु, पूर्वयुवराज पारस शाह फेसबुक, टिकटकलगायमा सक्रिय भइरहेका बेला पूर्वयुवराज्ञी हिमानी शाह र उनका दुई छोरी पनि नागरिकस्तरको सार्वजनिक जीवनमा देखिएका हुन् ।
२४० बर्षको शाहवंशीय राजसंस्थालाई जनआन्दोलनको म्यान्डेड भन्दै गणतन्त्र घोषणा भए पनि राज परिवारका सदस्य यसरी खुलेर जनतासँग सामाजिक सञ्जालसम्मको साधारण पहुँचमा थिएनन् । एकाध भ्रमणका क्रममा साक्षात्कार दिए पनि राज परिवारका सदस्यको गतिविधि सहज हिसावमा आम मानिससम्म पुग्न थालेपछि आजभोली अझ चर्चा बलियो भएको छ ।
पूर्वराजा शाह समसामयिक राजनीतिक र सामाजिक घटनाक्रमबारे ट्वीटरबाट आफ्ना धारणा र टिप्पणी राख्ने गर्छन् ।

‘राजा सबैका साझा हुन् भन्ने विषयको उदाहरण हो यो, जनतासँग सँधै नजिक रहने व्यक्ति नै राजा हो, उ जनताको खास प्रतिनिधि हो र दिनदुखसँग नजिक छ भन्ने बुझाईका लागि पनि सामाजिक सञ्जाललगायतमा देखा परेको हुनुपर्छ’, राजसंस्था र हिन्दूत्वका लागि सक्रियता देखाइरहेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत भन्छन्,‘प्रविधिमार्फत पनि राज परिवार जनतासँग छ भन्ने प्रष्ट उदाहरण होइन र ?’
त्यसो त विभिन्न विपत्तिमा पनि राज परिवारले नागरिकसँगको सम्बन्धलाई सहयोगी हात बढाएका छन् । हिमानी कोषमार्फत कोभिड–१९ को महामारीका बेला २ करोड रुपैंयाको आर्थिक सहयोग पनि भइसकेको छ । यस्तै महाभूकम्पका बेला पनि विद्यालय निर्माणलगायतका काममा सक्रिय रहेर राज परिवारले नागरिकसँगको सम्बन्धलाई प्रगाढ बनाएको कतिपयको बुझाई छ ।
नीजि जीवन पनि सादा छ र नागरिकभन्दा फरक छैन भन्ने प्रष्ट बनाउनका लागि पनि राज परिवारले गतिविधिलाई सामाजिक सञ्जालमा राखेका हुन सक्छन् । यहि क्रममा छोरी पूर्णिकालगायतसँग पूर्वयुवराज्ञी हिमानीको टिकटक भिडिओ बाहिरिएको थियो । अहिले चर्चामा रहेको छ ।
उता, पोखरामा रहेका पूर्वयुवराज पारस शाहले पनि आफूलाई सामाजिक सञ्जालमा सक्रिय देखाएका छन् । केही आलोचित भए पनि आम मानिससँग घुलमिलमा रहेका पारस केही दिन अघिसम्म विवादमा आए पनि विरोधाभाष अवस्थामा भने देखिएका छैनन् ।
कतिपय मानवशास्त्रीले भने अस्तित्व स्थापितका निम्ति पनि यसरी सार्वजनिक भएको हुन सक्ने अनुमानित व्याख्या राखेका छन् ।

बीबीसी नेपालीसँग मानवशास्त्री सुरेश ढकालले भनेका छन्,‘यसले अभिव्यक्तिका लागि एउटा ‘स्पेस’ दिन्छ । बहिर्मुखीमात्रै नभइ अन्तर्मुखी मानिस पनि आफ्नै घर वा कोठाभित्रै बसेर आफूलाई निर्धक्क अभिव्यक्त गर्न सक्छ ।’
विश्व नै एउटा गाउँको अवधारणा भएको समयमा मानिसहरूले आफ्नो अस्तित्व भौतिक उपस्थितिमा भन्दा डिजिटल स्पेसमा खोज्न थालेका कारण यस्तो भएको ढकालले बताए ।
पूर्वयुवराज्ञी हिमानी शाहले छोरीहरूसँग नाचेको वा सामान्य मानिसले नाचेको टिकटक बनाउनुमा मनोरञ्जनकै आशय देखिएको उनले बताए ।
‘आफ्ना छोरीहरूसँग रमाइलो मान्दै नाचेको त्यो भिडिओमा नेपाली नारीको झल्को देखिन्छ । हामी पनि सामान्य मानिस हौँ भनेर देखिन खोजेको एउटा अभ्यासको रूपमा यसलाई लिएको छु’, उनले सुनाए ।















प्रतिक्रिया