
काठमाडौं, २६ जेठ । जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने क्रममा त्यसका नेता डा. बाबुराम भट्टराईको बरियता चौंथो नम्बरमा राखिएपछि व्यंग्यात्मक टिप्पणी भएका छन् ।
तर यसको क्षतिपूर्ति डा. भट्टराईले ३३ जना सांसद रहेको संसदीय दलको नेतामा दाबी गर्दै लिने भएका छन् । एकीकृत पार्टीमा उनले संघीय परिषद अध्यक्ष सहित संसदीय दलको नेतामा दाबी गर्ने उच्च स्रोतले जानकारी दियो ।
‘राजनीतिमा यस्ता उतारचढाव हुनु अस्वभाविक होइनन् । व्यवस्थापनका निम्ति डा. भट्टराई संसदीय दलका नेता र संघीय परिषदका अध्यक्ष हुनेछन्’, स्रोतले भन्यो,‘बरियतामा तेस्रो तहमा बस्नका लागि उहाँ तयार हुनुहुन्छ ।’
एकीकृत पार्टीमा एक मात्र पूर्वप्रधानमन्त्री समेत रहेका कारण डा. भट्टराईलाई संसदीय दलको नेता दिएर त्यस पदमा दाबी गरेका राजेन्द्र महतोलाई उपाध्यक्षसहित संसदीय दलको उपनेता दिएर समझदारी गराउने तयारी पनि छ ।
‘महाधिवेशनसम्मका लागि दुई अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद अध्यक्षमा डा. भट्टराई, बरिष्ठ उपाध्यक्षमा अशोक राई, उपाध्यक्षमा महतो र संसदीय दलको उपनेताको जिम्मेवारी दिन सक्ने नयाँ शुत्र निकालिएको छ’, स्रोतको दाबी छ ।
नयाँ विधानअनुसार जसपामा संसदीय दलका नेता नै प्रधानमन्त्रीका उम्मेदवार हुनेछन् । यसकारण पनि भट्टराईलाई मौका मिले फेरि प्रधानमन्त्री बनाउन सकिनेगरी जनता समाजवादीको पदीय जिम्मेवारी दिने तयारी भएको हो ।
‘राजनीतिमा अनेक पद र जिम्मेवारीका फरक महत्व हुन्छन् । अध्यक्ष नै सवै चिज होइन । पदीय दायित्व अनि महत्वका विषयमा पनि राजनीति गर्ने मानिसले ध्यान दिन्छ’, स्रोत भन्छ ।
जसपा दर्ताका क्रममा २ नम्बरमा रहेका डा. भट्टराईको नाम टिपेक्स लगाएर मेट्दै चार नम्बरमा राखिएको थियो । उक्त विषयका कारण भट्टराईप्रति सामाजिक सञ्जाललगायतका विविध फोरममा व्यंग्यात्मक टिप्पणी भइरहेको थियो ।















प्रतिक्रिया