
काठमाडौं, २६ जेठ । अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) सम्झौतालगायतका विषयमा आज दिउँसो ४ बजे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा हुने बैठकमा बजेटमा परेको एमसीसी पास गराउने विषयमा छलफल केन्द्रित हुनेछ । नेकपा भित्रै उक्त सम्झौताका विषयमा मतभेद रहेका बेला यसलाई सकारात्मक रुपमा अगाडि बढाउने दिशामा नै नेकपाको निर्णय आउने बताइएको छ ।
उच्च स्रोतका अनुसार बजेटमा परिसकेको ५० अर्ब रुपैंयाको अमेरिकी सहयोग विद्युतीय प्रशारण लाइनका लागि भएकाले चर्चामा आएका अन्य विविध विषयको सान्दर्भिकतामाथि सचिवालयमा चर्चा हुनेछ ।
‘बजेटमा पनि परिसकेको र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पनि साथ रहेका कारण नेकपाले सर्वसम्मत रुपमा यस सम्झौतालाई सदनमा पेस गर्ने विषयमा नै छलफल केन्द्रित हुनेछ’, स्रोतले भन्यो,‘अप्ठ्यारो लागेका कतिपय बुँदाका विषयमा सघन छलफलपछि परिमार्जनका कुरा पनि हुनेछन् ।’
यसअघिको सचिवालय बैठकले एमसीसीबारेको विधयेक सदनमा सरकारले पेस गर्ने निर्णय भएको थियो । त्यसै पृष्ठभूमीमा रहेर नेकपा सांसदहरूलाई सम्झौता पास गर्नका निम्ति संसदीय दलले अपिल गर्न सक्ने पनि बताइएको छ ।















प्रतिक्रिया