– विश्वराज पछल्डङग्या
नेपालगञ्ज, २८ फागुन । नेपालगन्जमा विहीवार सम्पन्न दोस्रो प्रधानमन्त्री कप इण्डो-नेपाल महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।
एपिएफ क्लव र न्यु डायमण्ड क्लबवीच विहीवार भएको फाइनल खेलमा एपिएफले डायमण्डलाई ३–० को सोझो सेटमा पराजित गरी उपाधि चुमेको हो ।
एपिएफले ४ खेल खेलेर ११ र न्यू डाममण्डले ४ वटै खेलबाट ९ अंक जोडेका थिए । राउण्ड रोबिनका आधारमा खेलाइएको उक्त प्रतियोगिताका बिजेता र उप–बिजेता टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले नगद, मेडल तथा ट्रफी प्रदान गरे ।
नेपालगन्जस्थित कर्भडहलमा भएको अन्तिम प्रतिस्पर्धामा दर्शकको हुटिङ न्यु डायमण्डको पक्षमा भएपनि एपिएफले एकतर्फी प्रभाव जमाउँँदै खेल आफ्नो पोल्टामा पार्न सफल भयो । पहिलो २५–१७, दोस्रो २५–२२ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्दै उसले लीगको शीर्ष स्थानमा रहेर उपाधि जितेको हो ।
पहिलो संस्करणको साबिक बिजेता नेपाल पुलिसलाई ७ अंकका साथ तेस्रो स्थानमा चित्त बुझाउनु प¥यो भने अघिल्लो वर्ष भएको प्रतियोगितामा उप–विजेता भएको पश्चिमाञ्चल (पोखरा) ले यसपाली चौथो स्थानमा चित्त बुझाउनु पर्यो ।
उसले पाहुना टोली भारत उत्तरप्रदेशसँगको अन्तिम खेलमा सुखद नतिजा ल्याए पनि त्यसअघिका खेल गुमाएकाले चौथो स्थानमा समेटियो ।
पाहुना टोली खाली हात घर फर्किएको छ । उसले ४ वटै खेलमा कुनै जित हासिल गर्न सकेन ।
प्रतियोगिताको बिजेता एपिएफले ५५ हजार र उप–बिजेता न्यु डायमण्डले ३५ हजार नगद पुरस्कार हात पारेको छ भने तेस्रो हुने नेपाल पुलिस क्लबले २५ हजार नगद पुरस्कार प्राप्त गरेको छ ।
बिजेता, उप–बिजेता र तेस्रो स्थान ओगट्ने सबै टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव लामा, नेपाल प्रहरीका मध्यपश्चिम प्रमुख डिआइजी केशब अधिकारी, सशस्त्रका डिआइजी सुबोध अधिकारी, प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखक, जिल्ला शिक्षा अधिकारी देबेन्द्रराज खनाल, नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रशाद श्रेष्ठ, भारतीय भलिबल संघ उत्तरप्रदेशका सचिव बिबेक सिंह लगायतले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए ।
गतबर्षदेखि प्रधानमन्त्रीको गृह जिल्लामा इण्डो–नेपाल आमन्त्रण महिला भलिबल प्रतियोगिता हुन थालेको हो ।
















प्रतिक्रिया