काठमाडौं, ११ जेठ । नेपाली कांग्रेसको आइतबार बस्ने पदाधिकारी बैठकले विविध विषयमा आफ्ना निर्णयको तयारी गरेको छ ।
सरकारले नेपालको नयाँ नक्शा जारी गरेपछि औपचारिक धारणा दिनका लागि पदाधिकारीको बैठक बस्न लागेको हो ।
लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नक्सा जारीसँगै संविधानको अनुसूची संशोधन गर्न सरकारले संसदमा दर्ता गरेको प्रस्ताव र कोरोना संक्रमणमा सरकारका भूमिका विषयमा कांग्रेसले औपचारिक धारणा बनाउनेछ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोनादेखि कालापानीसम्मका विषयमा बैठकमा छलफल हुने बताए । सीमाका सन्दर्भमा सरकारको निर्णयमा सहमति जनाउन सकिने संकेत उनले गरेका छन् ।
समाजवादी र राजपाले शनिबार सभापति शेरबहादुर देउवासँग गरेको कुराकानीबारे पनि छलफल हुने एक नेताले बताए ।
बैठकमा पदाधिकारीसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण र राष्ट्रियसभामा विपक्षी दलका नेता राधेश्याम अधिकारी पनि सहभागी हुनेछन् ।















प्रतिक्रिया