नेपालगन्ज, ११ जेठ । बाँकेमा कोरोना संक्रमण रोकथामका लागि अग्रभागमा खटिएका स्वास्थ्य र सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ ।
नरैनापुर गाउँपालिकाको कालाफाँटा चौकीमा कार्यरत एक प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकामा भेटिएका २७ संक्रमितमध्ये एक प्रहरी जवान रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।
चौकीमा रहेका अन्य सुरक्षाकर्मीलाई क्वारेन्टाइनमा आज पिसिआर परीक्षणको तयारी भएको छ ।
खजुरा गाउँपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण देखिएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका खजुरा –५ का एक युवकमा संक्रमण देखिएको भोलिपल्ट स्वास्थ्यकर्मीमा संक्रमण देखापरेको खजुराका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।
नरैनापुरमा शनिबार कोरोना संक्रमण देखिएका प्रहरीसहित २७ जनालाई नेपालगञ्ज ल्याएर खजुरास्थित कृषि अनुसन्धान केन्द्रमा तयार गरिएको आइसोलेशन केन्द्रमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
प्रहरी चौकीमा कार्यरत प्रहरीलाई कोरोना पोजेटिभ देखिएपछि प्रहरीचौकी कालाफाँटा बन्द गरिएको छ ।
बाँकेको प्रहरीचौकी कालाफाँटामा कार्यरत २३ वर्षीय एक जनालाई कोरोना संक्रमण देखिएपछि प्रहरीचौकी कालाफाँटा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सिंहले जानकारी दिए । कालाफाँटा प्रहरीचौकीमा नौ जना कार्यरत छन् ।











प्रतिक्रिया