काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ सम्भावनासहित सकारात्मक दिशामा अघि बढाउन सहयोग पुगेको सरकारले निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री शाह स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले दुई देशबीचको आपसी विश्वास, सहकार्य र सम्बन्ध विस्तारका लागि आधार तयार गरेको बताए ।
नयाँ सरकार गठन भएपछिको प्रधानमन्त्रीको पहिलो औपचारिक विदेश भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने अवसर प्रदान गरेको उनको भनाइ थियो ।
‘राष्ट्रहितको प्रवर्द्धन र सहयोगात्मक घनिष्ठ सम्बन्ध र सहकार्यलाई बलियो बनाउँदै लाभ प्राप्त गर्ने दिशामा भ्रमण केन्द्रित रह्यो । नेपाल भारत सम्बन्धलाई संभावनायुक्त सकारात्मक लयमा फर्काउन भ्रमण फलदायी बन्यो,’ मन्त्री खनालले भने ।
उनका अनुसार भ्रमणका क्रममा दुवै प्रधानमन्त्रीले अघि सारेको ‘विकसित भारत, समुन्नत नेपाल’ दूरदृष्टि दस्ताबेजले ऊर्जा, कनेक्टिभिटीलगायतका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ ।
उक्त दस्ताबेजले नेपाल र भारतबीच विगतमा भएका सन्धि तथा सम्झौताको पुनरावलोकनका लागि समेत सम्भावना खोलेको मन्त्री खनालले बताए । यसले दुई देशबीच सरकारी तहको सम्बन्धसँगै जनस्तरको आपसी सम्पर्क र सहकार्य विस्तारमा पनि योगदान पुर्याउने उनको विश्वास छ ।
‘यस दस्ताबेजले पुराना सन्धिहरूको पुनरावलोकनको बाटो समेत खोलिदिएको छ । यसले दुई राष्ट्रबीच जनस्तरमा सम्बन्ध विस्तारका लागि पनि विशेष योगदान गर्नेछ,’ मन्त्री खनालले भने ।
मन्त्री खनालका अनुसार प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको छलफल दुई मुलुकबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित थियो ।
उनले प्रधानमन्त्रीको भ्रमणले नेपाल–भारत सम्बन्धलाई आगामी दिनमा थप मजबुत बनाउन सहयोग पुगेको दाबी गर्दै भ्रमणका लागि निमन्त्रणा दिएकोमा भारत सरकारप्रति धन्यवादसमेत व्यक्त गरे ।











प्रतिक्रिया