६ कार्तिक २०८३, शुक्रबार

यस्ता छन् नेकपामा ओली–प्रचण्ड समिकरणका नयाँ संकेत

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । विविध प्रकरणमा नेपाल कम्युनिस्ट पार्टी विभाजनको संघारमा पुगेको र समिकरण नै अनेक कोणबाट भएको भन्ने चर्चाबीच अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डकै समिकरणका नयाँ संकेत देखा परेका छन् ।

शनिबार पार्टी एकीकरण घोषणाको दुई बर्ष पुगेको छ । यसबीचमा विभिन्न मुद्दामा नेताहरूबीच असमझदारी बढेको चर्चा चलेको थियो । तर, अघिल्लो सातादेखि नै ओली–प्रचण्डको समिकरणका आधारमा नै नेकपाले गति लिन थालेको संकेत देखा परेको हो ।

एक सातामा जारी भएका दुई विज्ञप्तिमा अध्यक्षद्वयको संयुक्त हस्ताक्षर रहेको छ । जबकि, विविध प्रकरणमा पार्टी र सरकारका तर्फबाट फरक–फरक विज्ञप्ति आउने गरेका थिए ।

मदन–आश्रित स्मृति दिवसका अवसरमा जारी भएको विज्ञप्तिमा ओली–प्रचण्डले मृत्युको कारण खोजिने प्रष्ट भनेका छन् । तीन पृष्ठ लामो वक्तव्यमा भनिएको छ,‘मदन भण्डारी र जीवराज आश्रितको मृत्यु प्रकरणको गहिरो अन्वेषण हुनेछ ।’

नेकपा एकीकरणका बेला दुईवटा पिल्लरका रुपमा उभिएका थिए– ओली– प्रचण्ड । तत्कालिन एमाले र माओवादी केन्द्रको नेतृत्वका रुपमा उभिएर एकीकरण घोषणालाई मूर्त रुप दिएका दुवैको सहकार्यमा मात्र नेकपाको जीवन बलियो हुने बताइएको थियो । तेस्रो पिल्लरका रुपमा उभिन खोजेका नेता माधवकुमार नेपाल भने यतिबेला रुष्ट छन् । यसको कारण पनि ओली–प्रचण्डको समझदारी बन्नु रहेको प्रष्ट देखिएको थियो ।

गएको सचिवालय बैठकमा दुई अध्यक्षले स्थायी समितिको बैठक बोलाउनेमा समझदारी गरेका थिए । दुईपक्षीय वार्ता निरन्तर चलेपछि विविध प्रकरणमा रहेका कतिपय भ्रमबारे अध्यक्षद्वयको समझदारी बनेपछि सचिवालय बैठकले स्थायी समितिको बैठक डाक्ने निर्णय गरेको थियो । त्यसबीचमा नेता नेपालले दुई अध्यक्षको समझदारीले मात्र नहुने भन्ने अभिव्यक्ति दिनु पनि ओली–प्रचण्डको समिकरण बलियो हुनुको संकेत गरेको थियो ।

उच्च स्रोतले भन्यो,‘महाधिवेशनसम्म एकीकरणका बेला भएको समझदारीअनुसार नै जाने जेन्टलमेन सहमति बनेपछि नेकपाभित्र निम्तिन खोजेको विवाद साम्य भयो । यो दुई पार्टी एकीकरण भएर एउटा भएको हो, तत्कालिन एमालेभित्रको विवाद वा रोष जे भए पनि त्यसलाई मिलाउने जिम्मा प्रधानमन्त्री ओलीको हो ।’

तर तोकिएको समयमा नै महाधिवेशनमा जान सकिने वा त्यसबेला अध्यक्षको पूर्ण जिम्मेवारी सहमतिय आधारमा प्रचण्डलाई दिन सकिनेगरीको समझदारी पनि भइसकेको उच्च स्रोतले जनाएको छ ।

‘सकभर महाधिवेशनमा जाने तर यहि अवस्था रहेको खण्डमा भने महाधिवेशनको मिति तोकिएको बेलादेखि अध्यक्षको पूर्ण जिम्मेवारी प्रचण्डलाई दिन सकिने समझदारी बनेको छ’, उच्च स्रोतले भन्यो ।

स्थायी समितिको बैठक राखिने र त्यसमा विविध विषयमा छलफलका एजेन्डा प्रस्तुत भए पनि प्रधानमन्त्री ओलीलाई सहयोगका हिसाबमा नै अघि बढ्ने कुराकानी भएको छ । प्रधानमन्त्री ओलीले केही काममा सुधार गर्ने बताउनेछन् भने समझदारीका हिसाबमा अगाडि बढ्न स्थायी समितिले सुझाव दिनेछ ।

‘प्रधानमन्त्रीलाई फिर्ता बोलाउने आधार पनि कमजोर भयो । प्रचण्ड पक्षधर सबैले प्रधानमन्त्रीलाई मौका दिएर अगाडि बढ्न सुझाव दिने भन्दै न्युट्रल बस्न सक्ने सम्भावना छ’, नेकपा स्रोत भन्छ,‘यसै कारण पनि स्थायी समितिको बैठकका लागि प्रधानमन्त्री तयार हुनुभयो, यो तयारीमा नेता झलनाथ खनालको पनि सहयोग छ ।’

सचिवालय बैठकमा आत्माआलोचना गरी अगाडि बढ्ने विषय उठेपछि नेता खनालले भनेका थिए,‘प्रधानमन्त्रीले सबै समस्या र विवाद सुल्झाउनुभयो ।’