काठमाडौं, ३ जेठ । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले सरकारको नीति तथा कार्यक्रमलाई ‘बेतुक’को दस्तावेज भनेका छन् ।
नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै महतोले नीति तथा कार्यक्रमलाई लामो र भद्धाको संज्ञा पनि दिएका छन् । महतोले बेतुकको दस्तावेज सार्वजनिक गरेर सरकारले जनतालाई रनभुल्लमा पारेको बताए ।
उनले कोरोना भाइरसको संक्रमणबाट उत्पन्न परिस्थितिको सामनाका लागि सरकार अभिषाप भएको बताएका छन् ।
नेता महतोले सरकारले इतिहासकै पट्यार लाग्दो नीति तथा कार्यक्रम सार्वजनिक गर्दा पनि कोरोनासँग जुध्नका लागि कुनै ठोस कार्यक्रम ल्याउन नसकेको बताए ।
उनले चार बुँदामा समेटेर ल्याउनुपर्ने ठोस कार्यक्रमहरुलाई छरपस्ट बनाएर अनावस्यक क्षेत्रमा बजेट खर्चने रणनीति सरकारले लिएको आरोप लगाए ।
नेता महतोले सरकारले जनताको सरोकारका विषयमा केन्द्रित हुन नसकेको बताए । अहिलेको अवस्थामा कोरोनाविरुद्ध लड्नुपर्ने ठाँउमा भाषण सुनाउने काम मात्र भएको उनले बताए ।
नेपाली जनतालाई यो महामारिबाट जोगाउने, बेरोजगारलाई रोजगारको व्यवस्था गर्ने, अर्थतन्त्रलाई कसरी यथास्थानमा राख्ने, विगतका कुन योजनाहरूलाई अघि बढाउने र देशको सुरक्षा कसरी गर्ने भन्ने मात्रै अहिलेको अवस्यकता भएको महतोले बताए ।
देश र महामारीको जिम्मा देशको कार्यकारी प्रमुखको भएको भन्दै उनले प्रधानमन्त्रीलाई खोक्रो राष्ट्रवाद नदेखाउन आग्रह गरेका छन् ।
‘यो समय भनेको देशको सुरक्षाको विषय र भूमि सुरक्षा गर्छु भन्ने हो’, उनले भने, ‘पुराना कार्यक्रमलाई पनि निरन्तरता दिन्छु भनेको भए हुने थियो ।’
‘दुईतिहाइको गणितले देशलाई राम्रो गरेन । यो देश सुहाउँदो भएन’, नेता महतोले भने, ‘सरकारले ध्यान भड्काउने काम गर्यो । विगत वर्षका कार्यक्रम समेत जोडेर ल्यायो ।’
‘अर्थतन्त्र र महामारीबाट जोगाउने काम गर्छु भन्न सरकारले सकेन’, उनले भने, ‘खोक्रो राष्ट्रवाद देखाउने काम मात्र भएको छ ।’















प्रतिक्रिया