काठमाडौं, ३१ वैशाख । कोरोना भाइरसको संक्रमण बढ्ने क्रम तिब्र भएपछि गृह मन्त्रालयले आवत जावतमा कडाइ गरेको जनाएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन आवत जावतमा रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए । नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता शर्माले जिल्लाभित्र प्रमुख जिल्ला अधिकारीले सवारी पासको व्यवस्था गर्ने बताए ।
उनले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि कडाइ गरिएको बताए । ‘जिल्लाभित्र प्रमुख जिल्ला अधिकारीले पास वितरण गर्ने वा कसरी व्यवस्थापन गर्ने उहाँहरूले गर्नु हुन्छ’, उनले भने, ‘एक जिल्लाबाट अर्को जिल्लामा जान पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ ।’
सांसदहरूलाई आवत जावतमा के गर्ने भन्ने विषयमा गृह मन्त्रालयका प्रवक्ता शर्माले स्पष्ट बताउन सकेनन् ।
शर्माले सांसदहरूलाई आवाज जावतमा रोक्नेबारे मन्त्रालय केही नबोलेको जानकारी दिए ।
उनले सांसदहरूका बारेमा स्थानीय प्रशासनले नै निर्णय गर्न सक्ने बताए ।
‘उहाँहरू जानुपर्ने जिल्लाका प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिएर माननीयहरू जानु सक्नुहुन्छ’, शर्माले भनेका छन् ।
गृह मन्त्रालयका प्रवक्ता शर्माले विशिष्ट व्यक्तिहरूलाई दिइएको सुरक्षाकर्मी घटाउने सम्वन्धी नयाँ कार्यविधि मन्त्रिपरिषदमा पठाइएको जानकारी दिए ।
उनले कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत भएपछि कार्यान्वयन गर्न गृह मन्त्रालय प्रतिबद्ध रहेको बताए ।
उच्च पदाधिकारीहरूको सुरक्षाकर्मी हटाउने विषयमा अहिले नै केही गर्न सक्ने अवस्था मन्त्रालय नरहेको शर्माले बताए ।















प्रतिक्रिया