
काठमाडौं, २४ वैशाख । जोखिम व्यवस्थापनमा परिचालन भइरहेको सशस्त्र प्रहरीमा कम्तिमा ९ हजार जनशक्ति थप हुनुपर्ने प्रस्ताव गृह मन्त्रालयमा भएको छ ।
हाल ३८ हजार जनशक्ति रहेको सशस्त्र प्रहरीलाई सरकारले सीमा सुरक्षा तथा जोखिम व्यवस्थापनमा व्यापकताका साथ परिचालन गर्दै आइरहेको छ । कोरोना भाइरस रोकथामका लागि पनि सीमा क्षेत्रमा अन्य सुरक्षा संयन्त्रको भन्दा सशस्त्र प्रहरीको संख्या बढी छ ।
‘यो संख्याले मात्र जोखिम व्यवस्थापनका लागि पर्याप्त नहुने भएपछि रायसहितको प्रस्ताव गरिएको छ । गृह मन्त्रालयले यसमा विचार गरेर मन्त्रिपरिषदमा लैजान सक्छ’, उच्च स्रोतले भन्यो ।
अधिकृतदेखि जवानसम्म गरी कम्तिमा ९ हजार दरबन्दी कायम गरेको खण्डमा अहिलेको तुलनामा निक्कै प्रभावकारी काम गर्न सकिने सशस्त्र प्रहरी प्रधान कार्यालयको ठम्याई छ ।
हाल विभिन्न ठाउँमा खटाइएका बेस क्याम्पलाई पनि सीमा सुरक्षाका लागि परिचालन गरिएको छ । सामान्य अवस्थामा औद्योगिक क्षेत्रदेखि अनेक क्षेत्रमा सुरक्षाका लागि सशस्त्र प्रहरी खटाइने गरिएको छ ।
लक डाउनका समयमा नागरिकको स्वास्थ्य जाँचमा पनि सशस्त्र प्रहरीले एक सय २४ वटा युनिट खडा गरेको थियो । सुरुका दिनमा उक्त संख्यामा खडा गरिएको युनिटको संख्या खुम्चाएर ९४ वटा बनाइएको छ । विविध सामाजिक सुरक्षाका काममा खटाइएका जनशक्तिलाई सरकारको निर्देशनअनुसार अन्यत्र खटाउनुपर्ने भएकाले स्वास्थ्य युनिटको संख्या घटाउनु परेको बताइएको छ ।















प्रतिक्रिया