६ कार्तिक २०८३, शुक्रबार

सांसद डा. यादवको ‘फेक अपहरण’को तथ्य 

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विनोद ढकाल/टिप्पणी

काठमाडौं, १९ वैशाख । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको ‘अपहरण’ भएको भन्दै उजुरी बोकेर त्यसका नेताहरू डा. बाबुराम भट्टराई, उपेन्द्र यादवलगायत विभिन्न सरकारी निकायमा पुगिरहेका छन् ।

पार्टी विभाजनको हल्लाबीच रातारात राष्ट्रिय जनता पार्टीसँग एकीकरणका सहमतिपत्रमा हस्ताक्षर गरी ‘जनता समाजवादी’ दल दर्ताका निवेदन दिँदासम्म अपहरण भएको भन्ने कुनै चर्चा र आधार थिएन । सामाजिक सञ्जालमा हल्ला फिजाएर त्यसैलाई कानुनी आधार बनाउने प्रयत्नचाहिँ गरिएको थियो तर सतहको तथ्य अर्कै थियो ।

सरकारी वकिलको कार्यालयले पनि उजुरी दर्ता गर्न नमिल्ने भनेपछि यस प्रकरणलाई राजनीतिक प्रतिशोधको कथा बनाइएको प्रष्ट तस्बिर देखिएको छ ।

महोत्तरीस्थित सांसद यादवको घरमा खाजा खाना खुवाएर अतिथि सत्कार गरिएका सांसदहरू महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आईजी सर्वेन्द्र खनाल साथै आएर होटलसम्म छाडेको विषयलाई सत्तासँगको जोडघटाउमा अपहरण प्रकरण बनाउन कोशिश गरिएको प्रष्ट हुन्छ ।

सांसद यादवलाई बस्नेत, श्रेष्ठ र खनालले बन्धक बनाएको भन्ने विषयमा कुनै सत्यता नरहेका प्रमाण र घटनाक्रमले प्रष्ट बनाउँछ । यसका केही नजिर र तथ्य छन् भने कतिपय प्रश्न समाजवादी पार्टीका नेतातिर स्वभाविक रुपमा तेर्सिन्छन् ।

महोत्तरीबाट काठमाडौंको मेरियट होटलसम्म आउँदा कम्तिमा ५० भन्दा बढी अति कडा सुरक्षा चेक प्वाइन्ट पार गरेर आउनुपर्छ । यहाँसम्मकी सिन्धुली प्रवेश गर्ने बेला सशस्त्र प्रहरीले गाडीको अनिवार्य सेनिटाइज गर्छ भने राजधानी प्रवेशका बेला भक्तपुरमा पनि त्यसै गरिन्छ । उक्त ठाउँहरूमा रहेका सुरक्षा निकायमा समेत सांसद यादवले आफूलाई अपहरण गरेको या अपहरित भएको भन्ने कुनै प्रकारका सांकेतिक काम समेत गरेका छैनन् । बरु, हाँसी हाँसी मेरियट होटलमा पुगेका छन् र सुरक्षा गार्ड, आफ्ना भिनाजु, प्रदेश सभा सदस्य कौशल यादवलगायतलाई फरक–फरक कोठामा राखेर आफू पनि डिलक्स कोठामा बसेका छन् ।

यहाँ प्रश्न उठ्छ– यतिसम्म गरेका सांसदको अपहरण होटलबाट निकाल्ने दौरान भएको हो की होइन ? समाजवादीका नेता तथा डा. भट्टराईका स्वकीय सचिव विश्वदिप पाण्डे, अर्का नेता आङकाजी शेर्पालगायतले धम्कीपूर्ण भाषामा पार्टी फुटाउन चेतावनी दिएको फेसबुक लाइभ नै सार्वजनिक भएको थियो, होटल प्राङ्गणबाट । अपहरण शैलीमा यादवलाई उठाएर भट्टराई निवासमा पुराउने कामचाहिँ अपहरण हो कि होइन ?

सुरक्षा गार्डसहित काठमाडौं हिडेका सांसदको अपहरण हुँदा गार्ड कहाँ थिए ? विश्वका विविध अपहरण तथा अपराधको घटनामा पहिलो प्रहार सुरक्षा गार्डमाथि हुन्छ । एउटा मिहिन प्रश्न छ– सांसद यादवका सुरक्षा गार्ड कहाँ छन् ? किन उनी बोलिरहेका छैनन् ? यस प्रकरणमा कानुनी बाटोमा उनको उपस्थिति अनिवार्य हुन्छ, जसले प्रष्टिकरण दिनु आवश्यक ठहर्छ ।

अपराध अनुसन्धानमा दख्खल राख्ने अधिकारीहरूका अनुसार आक्रमण या अपहरण गर्दा भिआईपीका सुरक्षा गार्ड पहिलो टार्गेटमा हुन्छन् । तर यस प्रकरणमा त्यसो भएको छैन । सर्वोच्च अदालतका तत्कालिन न्यायाधीश रणबहादुर बम हत्याको उदाहरण दिँदै अधिकारीहरू भन्छन्,‘उनको पनि सुरक्षा गार्डलाई पहिलो आक्रमण भएको थियो । गार्डले प्रतिकार गर्छ । तर यादव प्रकरणमा गार्डको भूमिकालाई गौण राखी राजनीति मात्र गरिएको प्रष्ट देखिन्छ ।’

होस्टाइलमा परे सांसद यादव !

समाजवादी पार्टी विभाजनको अन्तिम चरणमा पुगेको चाल पाएपछि डा. भट्टराई, उपेन्द्र यादवलगायतको एउटै मिशन बनेको थियो– यादवलाई नियन्त्रणमा राखेर पार्टी जोगाउने । यादवले पार्टी विभाजनको घोषणा गर्नुअघि नै एकताको घोषणा गर्नु । रातभर छलफल गरेर सहमतिको समझदारी गरी राजपासँगको एकीकरणको तयारी तिव्र गतिमा गरियो । जबकि, उपेन्द्र यादव एकीकरणका लागि यसअघि सक्रिय र सहमत थिएनन् ।

सांसद यादवले भट्टराई, उपेन्द्र यादवसँग फोनमा कुराकानी गरेका थिए । उनी अपहरणमा परेको नभई पार्टी विभाजन नगर्नका लागि नेताहरुको दबाबमा उनलाई नियन्त्रणमा लिएर डा. भट्टराईको घरमा पुराइएको थियो । उनीसँग आएका कौशल यादवको एउटा अडियो संवादअनुसार नेताहरूले नै डा. यादवलाई उठाएका थिए ।

काठमाडौं आएपछि मिडियामा दुई दिनसम्म अपहरणमा परेको नभनेका स्वयम् पीडित भनिएका डा. यादवलाई जबरजस्ती उजुरीमा हस्ताक्षर गराई कानुनी उपचारमा जान दबाब दिइनु, होस्टाइल गरिएको ठहरिन्छ । ‘मन्त्री पनि बन्ने अवस्था नआएको र पार्टी पनि विभाजन गर्न नसक्ने स्थितिमा राजनीति नै समाप्त हुने भएपछि सांसद यादवले बोली फेरेका हुन्’, उनका कतिपय सहकर्मीले यहि भनिरहेका छन् ।

त्यसो त समाजवादी पार्टीका सांसद प्रदिप यादवले त मिडियामा सार्वजनिक रुपमा नै डा. यादवको अपहरण नभएको, मन्त्री बन्नका लागि आएको र पार्टी विभाजनका रणनीतिकार मध्ये प्रमुख रहेको बताइसकेका छन् । राजनीतिक रुपमा चर्चामा रहेका बस्नेतलगायत सुरक्षा निकायमा प्रभावकारी काम गरेका पूर्वआईजी खनालको चरित्र हत्याका लागि पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई, पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवलगायत लाग्नु ‘फेक अपहरण’को प्रापोगान्डामा राजनीति गर्न खोजेको प्रष्टिन्छ । सांसद यादव अहिले पनि उनीहरूसँगै बन्दी रहेका कारणले उनलाई बारम्बार होस्टाइल गरी यो प्रकरणलाई परिणाम दिने प्रयत्न भइरहेको पनि प्रष्ट हुन्छ ।