
काठमाडौं, १७ वैशाख । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव ‘अपहरण’ हत्कण्डामा नयाँ ट्वीस्ट आएको छ । उनीसँगै काठमाडौं आएका २ नम्बर प्रदेश सभा सदस्य कौशल यादवको टेलिफोन संवादको अडियो लिक भएको छ ।
प्रतिनिधि सभा सदस्य यादव मेरियट होटलबाट गायब भएपछि प्रदेश सभा सदस्य कौशल यादवले कसैसँग गरेको संवादमा भनेका छन्,‘उपेन्द्र यादव, डा. बाबुराम भट्टराईलगायतले उनलाई लगेका छन् । बाबुरामको घरमा नै होलान् । मेरो फोन पनि उठाउँदैनन् । भिनाजुलाई पनि घर जान भनेका रहेछन्, राती नै गए ।’
विवरणमा आएको अडियो संवाद अपहरणको आरोप लगाइएका सांसद महेश बस्नेत, पूर्वआईजी सर्वेन्द्र खनाल अथवा सांसद किसन श्रेष्ठसँगको जस्तो सुनिन्छ ।
डा. यादव प्रदेश सभा सदस्य कौशल यादव, आफ्ना भिनाजुलगायत बडीगार्ड र ड्राइभरसहित काठमाडौं आएका थिए । उनीसँग आएका कुनै पनि सदस्यले अपहरण भएको भनेका छैनन् । यहाँसम्मकी डा. यादवका भिनाजु र परिवारका सदस्यले पनि यस विषयमा मुख खोलेका छैनन् ।
‘अपहरण भएको भन्ने त डा. यादवले पनि भनेका थिएनन् । जब विश्वदिप पाण्डेलगायतले उनलाई लगे, आङकाजी शेर्पालगायतको टोलीले बन्धक बनाएर अपहरण भएको भन्न लगाएपछि उजुरी वाजुरका कुरा सुरु भए’, समाजवादीका एक जना नेताले भने,‘यो अपहरण सपहरण केही पनि होइन, वाइयात कुरा हो ।’
समाजवादी पार्टी विभाजनको चरणमा पुग्ने भएपछि राष्ट्रिय जनता पार्टीसँग रातारात एकताको सहमतिपत्रमा हस्ताक्षर गर्नासाथ अपहरणको उजुरी तयार भएको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता नभएपछि सरकारी वकिलको कार्यालयमार्फत दर्ता गराउने कोशिश भएको थियो । सरकारी वकिलको कार्यालयले पनि डा. यादव प्रकरणको उजुरी इन्कार गरिदियो ।
‘सरकारलाई अझ बदनाम गराउनका लागि यिनीहरू महोत्तरी प्रहरीमा उजुरी दर्ताको तयारीमा छन् । यहि प्रकरणको राजनीति गर्ने दाउपेच भइरहेको छ’, ति नेताले भने,‘यतिसम्मको फोहोरी खेलको तयारी भएको सूचना पाएको छु ।’
यादव प्रकरण सार्वजनिक हुनासाथ समाजवादी पार्टीका असन्तुष्ट सांसद मध्येका प्रदिप यादवले अपहरण नभएको बरु मन्त्री पद नपाउने पक्का भएपछि यो जालझेलको खेल निकालिएको बयान दिएका थिए । पार्टी विभाजनका निम्ति डा. यादवले नै प्रस्ताव गरेको सांसद प्रदिप यादवले बताएका थिए ।















प्रतिक्रिया