
काठमाडौँ, १६ वैशाख । काष्ठमण्डप खाद्य उद्योगको गल्तीले गर्दा भाटभटेनीमाथि कारवाही भएको काष्ठमण्डप खाद्य उद्योगले जनाएको छ । उद्योगले मंगलबार एक विज्ञप्ति निकाल्दै आफ्नो परिस्थितिवश भएको मानवीय कमजोरीका कारण यस्तो हुन गएको जनाएको छ ।
नेपाल सरकार, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको टंगालस्थित भाटभटेनी सुपरमार्केटलाई उद्योगले आपूर्ति गरेको २५० ग्रामको मूल्यलाई लिएर २०७७ वैशाख १५ गते कारवाही गरेको सम्बन्धमा उद्योगको ध्यानाकर्षण भएको जनाएको छ ।
काठमाडौँ महानगरपालिका वडा नम्बर १२, टेकुमा रहेको यस काष्ठमण्डप खाद्य उद्योगले भाटभटेनी सुपरमार्केटलाई विगत १० वर्षदेखि नेवार समुदायको लोकप्रिय खानेकुरा लाखमरी, तिलको लड्डु, ऐंठे, रोट, पञ्जाफी, अनरसा लगायत सप्लाई गर्दै आएको जनाएको छ ।
भाटभटेनी सुपरमार्केटमार्फत बिक्री हुने हरेक सामानमा सोको मूल्य उल्लेख हुने र भाटभटेनीले हरेक वस्तुको मूल्य पहिचानका लागि बारकोड प्रयोग गर्ने गरेको छ । उद्योगले सप्लाई गरेको लाखामरीमा पनि बारकोडसहित मूल्यको स्टिकर टाँसिएको छ ।
यस्तो बारकोड र मूल्यको स्टिकर टाँस्ने कार्य मूलतः भाटभटेनी आफैंले गर्ने गरे पनि यसपटक लकडाउनको प्रतिकूल अवस्थामा उक्त बारकोडको स्टिकर टाँस्ने जिम्मा उद्योगलाई दिएको थियो ।
लकडाउनका कारण खाद्य उद्योगका अधिकांश कर्मचारी काममा आउन नसकेको र सीमित तथा बारकोडको विषयमा गहिरो जानकारी नभएका कर्मचारीबाट काम गराउँदा २५० र ५०० ग्रामको प्याकेटमा एउटै मूल्यको बारकोड स्टिकर टाँसिन गएको र सोही वस्तु अनुगमनका क्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीले फेला पारेर भाटभटेनीमाथि कारवाही भएको उद्योगका आधिकारिक व्यक्ति अनिलदास राजकर्णिकारले जनाएको छन् ।
त्यस्तै, पछिल्लोपटक उद्योगले २०७७ वैशाख १० गते भ्याट बिल नम्बर ८३५ मार्फत आपूर्ति गरेको ५० प्याकेट लाखमरीमा फरक स्टिकर टाँसिएको पनि प्रष्ट पारेको छ ।
उद्योगले आफ्नो कमजोरीका कारण मुलुककै प्रतिष्ठित व्यापारिक घरानाद्वारा सञ्चालित भाटभटेनी सुपरमार्केट कारवाहीमा परेकोमा हामीलाई गहिरो दुःख लागेको उल्लेख गरेको छ ।
२५० ग्रामको र ५०० ग्रामको लाखामरीमा फरकफरक मूल्यको बारकोड स्टिकर टाँस्नुपर्नेमा एउटै स्टिकर टाँसिएको व्यहोरा अनुगमनमा संलग्न अधिकारीहरुले पनि प्रत्यक्ष देखेको उद्योगले जनाएको छ ।
त्यस्तै, उद्योगले भाटभटेनीको कारण नभई आफ्नो मानवीय कमजोरीले घटना भएको स्पष्ट पार्दै कुनै नियतवश नभएको जनाएको छ । र सबैलाई यही रुपमा बुझिदिन पनि उद्योगले अनुरोध गरेको छ ।
















प्रतिक्रिया