
काठमाडौं, १२ वैशाख । समाजवादी पार्टीका सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव र त्यस पार्टीका अध्यक्ष उपेन्द्र यादवको सम्बन्ध बिग्रिएको तथ्य सतहमा आएको छ ।
यादवसहित रेणु यादव र अन्य सांसदले अध्यक्ष यादवको मनोपोलीका कारण पार्टीमा रहन नसक्ने भन्दै विभाजनको तयारी गरेका थिए । अध्यक्ष यादवले एक्लौटी र मनपरी ढंगले समाजवादी पार्टी चलाएको आरोप लगाउँदै विभाजनको तयारी भएको थियो ।
राष्ट्रिय जनता पार्टीसँगको एकीकरणमा जोड दिँदा उपेन्द्रले नसुनेपछि मोहम्मद इस्तियाक राई, रेणु र डा. यादवलगायतका सांसद पार्टी विभाजनका लागि तयार भएका थिए । सो विभाजनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्यादेश मार्फत सहज बनाउन अनुनय, बिनय गरिएको र अझै विभाजनकै अभ्यास चलिरहेको बताइएको छ ।
‘सदनमा आफ्नो हैसियत गुम्ने भएपछि उपेन्द्र यादवलगायतले राजपासँग एकीकरणको नाटक गरेका हुन् । यो एकता नभई राजपाको बुई चढेर उपेन्द्रले पार्टी जोगाउनका लागि गरेको रणनीतिक अभ्यास मात्र हो’, स्रोतले भन्यो ।
समाजवादी स्रोतका अनुसार उपेन्द्रसँगको सम्बन्ध विग्रिएपछि चर्चामा ल्याइएका सांसद यादव पार्टी छाड्न चहान्थे । त्यसैको पृष्ठभूमीमा नै नेकपा सांसद महेश बस्नेत र किसन श्रेष्ठसँग कुराकानी भएको थियो । पार्टी विभाजन नभए पनि नेकपामा प्रवेश गर्ने तयारीमा डा. यादवले प्रधानमन्त्री ओलीसँग पनि कुराकानी गरेका थिए ।
डा. बाबुराम भट्टराईले समाजवादी पार्टी जोगाउनका निम्ति विश्वदिप पाण्डेलगायतलाई खटाएर डा. यादवलाई रोकेको बताइएको छ । एकीकरण सम्भव भए डा. यादवलाई एउटा भाइटल जिम्मेवारी दिने आश्वासन भट्टराईमार्फत पाण्डेले लगेको बताइएको छ ।
डा. यादवको सम्बन्ध उपेन्द्रसँग राम्रो बनाउने र पार्टी विभाजनका निम्ति प्रयोग हुने काम नगर्न र सरकारको बदनामीका लागि खुलेर बोल्नका लागि भट्टराईलगायतले उपयोग गरेको पनि उच्च स्रोतले जनाएको छ ।















प्रतिक्रिया