
काठमाडौं, ११ वैशाख । बुधबार अपरान्हदेखि चलेको नेपाली राजनीतिको यथार्थ प्रहसनको केन्द्रविन्दु बनेका पात्र हुन्, डा. सुरेन्द्र यादव । समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वदिप पाण्डेले सामाजिक सञ्जालमा यादवको अपहरण भएको खबर सार्वजनिक गरेका केही घन्टामा नै उक्त पार्टी विभाजन हुन लागेको अर्को खबर सार्वजनिक भयो ।
यो खबरसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मुख्यालयमा चार प्रतिपक्षी दलको बैठकपछि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको एकताको खबर सार्वजनिक भएको थियो । एकता सहमति पत्र भने मध्यरातमा मात्र बाहिरियो । तर, त्यसबेलासम्मको चर्चा र खोजीको पात्र थिए, सुरेन्द्र ।
सुरेन्द्र अपहरणको कथ्यको यथार्थ पाण्डेले विहीबार विहान सामाजिक सञ्जालमा राखेको तस्बिरले प्रष्ट बनायो । योसँगै उनी सरकारको समन्वयमा थिए की समाजवादीको नियन्त्रणमा भन्ने मूल प्रश्न उब्जाएको छ । सुरेन्द्र आफैंले भने यस विषयमा आधिकारीक वक्तव्य या बयान दिएका छैनन् ।

पार्टीमा अध्यक्ष उपेन्द्र यादवको मनोपोलीका कारण पार्टी विभाजनको प्रस्तावक नै सुरेन्द्र थिए । सोही प्रस्तावका आधारमा रेणु यादवलगायतका नेता पार्टी विभाजन गर्नका लागि तयार भए । सरकारसँगको समन्वयमा यादव राजधानी छिरे तर उपेन्द्र, डा. बाबुराम भट्टराईलगायतका समूहले अपहरण भएको नयाँ नाटकीय प्रचार गरेको थियो ।
‘एउटा सांसद भएका हिसाबमा जनकपुरबाट राजधानी पुग्ने अनुमति र सुरक्षा सरकारसँग मागेपछि नदिने कुरा भएन । तर, त्यसलाई अपहरण भनी दुश्प्रचार गरियो’, प्रशासन उच्च स्रोतले भन्यो,‘पार्टीका आन्तरिक विवाद वा विभाजनको विषयलाई प्रशासनले कसरी चिन्छ ? प्रशासनले संघीय सदनको सांसद मात्र चिन्छ ।’
मेरियट होटलमा बसेका सुरेन्द्रसहितको राजनीतिक स्वतन्त्रतामा धावा बोल्नका लागि समाजवादी पार्टीका विभिन्न नेताले धम्कीपूर्ण भाषाको प्रयोग गरेको सतहमा आएको छ । सुरेन्द्रलगायतलाई धम्की दिनका लागि आङकाजी शेर्पालगायतका केही नेता उच्छृङ्खल भाषा शैलीमा उत्रिएको भिडियो सामाजिक सञ्जालमा फेला पर्नु यसको कारण हो । शेर्पाले सुरेन्द्रलगायतलाई गालीगलौजका केही शव्द समेत प्रयोग गरेको भिडियो फेसबुकमा लाइभ नै गरेका थिए ।















प्रतिक्रिया