काठमाडौँ, २६ फागुन । नेपाल वायु सेवा निगमको जहाजमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै थन्किएको छ । गत महिना फ्रान्सबाट ल्याइएको एयरबस १ महिना नपुग्दै विग्रीएपछि उडान रद्द गरी विमानस्थलमै थन्किएको हो ।
एक महिना पहिले ल्याइएको निगमको एयरबसमा प्राविधिक समस्या उत्पन्न भएपछि उडान गर्न नसकिएको हो ।
निगमका प्रवक्ता रामहरि शर्माले एयरबसमा गम्भीर प्राविधिक समस्या उत्पन्न भएपछि मंगलबारको उडान रद्द गरिएको बताउनुभयो । प्राविधिक समस्याका कारण उडान हुन नसकेपछि विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको छ ।
प्रवक्ता शर्माले एयरबसको सामान सिङ्गापुरबाट ल्याउनुपर्ने भएकाले बुधबार मात्रै आइपुग्ने र मर्मत गरिने बताउनुभयो । सिङ्गापुरबाट हङकङ हुँदै सामान आज राति मात्रै काठमाडौँ आइपुग्ने उहाँको भनाइ छ ।
टर्किस एयरको जहाज दुर्घटनाका कारण यात्रुको चाप बढिरहेको बेला थप उडान गर्नुपर्ने समयमा जहाजमा समस्या आउनुले यात्रु थप मारमा पर्ने स्थिति देखिएको छ ।
गत माघ २५ गतेमात्रै ३२०–२२० मोडलको सो जहाज नेपाल भित्र्याइएको थियो । जहाजमा समस्या देखिएपछि निगमले सोमबार रातिको उडान स्थगित गरेको थियो ।
उडान नभएपछि निगमले यात्रुलाई राजधानीको एक होटलमा आवासको व्यवस्था मिलाएको छ । सोमबार निगमको जहाजले बैंकक उडान गर्ने तालिका थियो ।
















प्रतिक्रिया