६ कार्तिक २०८३, शुक्रबार

यस्तो छ नेकपा अध्यक्ष प्रचण्डको लक डाउन डायरी

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक जीवनमा सायदै यति धेरै फूर्सदका दिनको सदुपयोग गरेका थिए होला । युद्धकालदेखि शान्ति प्रक्रिया हुँदै सामान्य राजनीतिक अवस्थामा पनि उनको व्यस्तताको सीमा नै थिएन । परिवारका लागि उतिसाह्रो समय दिन पाएका थिएनन् ।

विहान उठेपछि केही समय व्यायामबाहेक विहान ८ बजेदेखि राजनीतिक कर्ममा नै अभ्यस्त हुने प्रचण्डलाई कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लक डाउनले परिवारका सदस्यसँग दैनिकी बिताउने गज्जबको मेसो बनाएको छ ।

खासगरी स्वास्थ्यका हिसाबले कमजोर रहेकी पत्नी सीता दाहालका निम्ति उनले पर्याप्त समय निकाल्न पाएका छन् भने परिवारका अन्य सदस्यसँग पनि सोही हिसाबमा सामिप्यको व्यवाहार गर्न पाएका छन् ।

लक डाउनका समयलाई उनले खेर फालेका छैनन् । विहानको दैनिकीसँगै साइकल चलाउने, पत्नी सीतालाई निवासको कम्पाउन्डमा घुमाउने, राजनीतिक व्यक्तित्वसँग टेलिफोनमा कुराकानी गरी मुलुकको विषयमा परामर्श गर्ने, अर्गानिक खाना पकाउन आफैं भिँड्नेसम्मका काममा प्रचण्ड व्यस्त हुन्छन् ।

हरेक दिन विहान ५ बजेदेखि आधा घन्टा नेपाली पुराना गीत सुनेर दैनिकी सुरु गर्ने प्रचण्डले परिवारमा पनि नयाँ नियम बनाएका छन् । उनले भनेका छन्, हामी भएको खण्डमा विहान मांसाहारी खाना खाने, बेलुका शाकाहारी खाने भनी अभ्यास गरेका छौं ।

यसको पनि खास कारणबारे उनी थप खुलेका छन् । कोरोना भाइरसको संक्रमण बढ्न नदिन रोग प्रतिरोधात्मक क्षमता बढाउनका निम्ति मसलेदार खानामा नै जोड दिने गरेको उनी बताउँछन् ।

प्रचण्डले यहि मौकामा दाउराबाट पकाएर खान थालेको पनि खुलासा गरेका छन् । पकाउने काममा उनी आफैं लागि परेका तस्बिर सार्वजनिक भएका थिए । छोरी ज्वाँई गंगा दाहाल, जीवन आचार्य र प्रचण्डले खाना पकाएको तस्बिर बाहिरिएको थियो भने नातीनातिनासँग साइकिलिंग गरेको तस्बिर पनि सार्वजनिक भएको थियो ।

राजनीतिक काममा भने प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको बैठक वा पार्टीका केही विशेष काम भए मात्र लक डाउनमा सुरक्षित भएर जाने गरेको खुलासा गरेका प्रचण्ड भन्छन्, ‘दिउँसोको समयचाहिँ पुस्तक पढेर बिताउने गरेको छु ।’

महाभुकम्पले नेपालीलाई धनी गरिब वा ठूलो सानो नभनीकन एक बनाए जस्तै कोरोनाले मानव जातिलाई नै एक बनाउनका निम्ति सन्देश दिएको बताएका उनले नागरिकको सुरक्षाका लागि सरकारले लिएको लक डाउनको निर्णय र गरेका कामको खुलेर प्रशंशा गरेका छन् । उनले यस्तो बेला राजनीतिक विषयमा रहेका विमतिको भन्दा पनि सरकारले गरेका कामको प्रभावकारीताका विषयमा जोड दिने, सरकारलाई सहयोग गरी अघि बढ्नुपर्ने र नागरिकले पनि सरकारले गरेको निर्णयलाई इमान्दारीताका साथ मान्नुपर्ने अवस्था रहेको बताएका छन् ।