दमौली, २१ चैत । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठले व्यक्तिगत खर्चमा आफ्नो निर्वाचन क्षेत्रका स्थानीय तह, सुरक्षा निकायका कार्यालय र पत्रकार महासंघलाई मेडिसिन मास्क, पीपीइ र सेनेटाईजर उपलब्ध गराएका छन् ।
सांसद श्रेष्ठले बिहीबार निर्वाचन क्षेत्रमा गई ती स्वास्थ्य सुरक्षा सामाग्रीहरू प्रदान गरेका हुन् ।
सांसद श्रेष्ठले देवघाट, आवुँखैरेनी र बन्दिपुर गाउँपालिकालाई १५ सय थान मेडिकल मास्क र ५ थान पीपीइ, भानु र व्यास नगरपालिकालाई २ हजार थान मास्क तथा भानु नपालाई १० थान पिपिइ र व्यास नपालाई ३ थान पीपीई प्रदान गरेका छन् ।
उनले इलाका प्रहरी कार्यालय आबुखैरेनीलाई दुई सय ५० थान मास्क, इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेलाई दुई सय ५० थान मास्क, १ थान पीपीइ र २ लिटर सेनीटाइजर, मनकामना सशस्त्र प्रहरी गण भानुलाई पाँच थान मास्क र ४ लिटर सेनिटाइजर, दमौली अस्पताललाई एक हजार थान मास्क र १० थान पीपीइ, जिल्ला प्रहरी कार्यालयलाई सात सय ५० थान मास्क र २ लिटर सेनीटाइजर जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई दुई ५० थान मास्क उपलब्ध गराए ।
सांसद श्रेष्ठले जिल्ला प्रशासन कार्यालयलाई दुई सय ५० थान मास्क, जिल्ला कारागारलाई दुई सय ५० थान मास्क र १ लिटर सेनीटाइजर तथा नेपाल पत्रकार महासंघ तनहुँ शाखालाई दुई सय ५० थान मास्क र दमौलीमा कार्यरत १५ जना पत्रकारकोलागि एन ९५ मास्क उपलब्ध गराएका थिए । ती सबै सामाग्री आफ्नै व्यक्तिगत खर्चमा खरिद गरेर ल्याएर उपलब्ध गराएको उनले बताए ।
विपत्तीको बेलामा पनि आफ्नो निर्वाचन क्षेत्रका जनताको स्वास्थ्य चिन्ताले आफूलाई मर्माहत बनाएको भन्दै उनले लकडाउनको बाबजुद स्वास्थ्य सुरक्षा सामाग्री खरिद गरेर ल्याई वितरण गर्न आएको बताए ।
यसैवीच, सांसद श्रेष्ठले सदरमुकाम दमौलीमा रहेको दमौली अस्पतालमा पाँच शैयाको सघन उपचार कक्ष (आईसियु) स्थापना गर्ने घोषणा गरेका छन् ।
बिहीबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सांसद श्रेष्ठले तनहुँ जिल्ला भर एउटा पनि भेन्टिलेटरसहितको आईसियु उपचार कक्ष नभएको हुँदा आफ्नो व्यक्तिगत खर्चमा स्थापना गर्ने घोषणा गरेका हुन् ।
त्यसको लागि दमौली अस्पतालले कोठा उपलब्ध गराउनुपर्ने भन्दै उनले अस्पतालले जति सक्दो छिटो कोठा उपलब्ध गराउँछ, त्यति नै छिटो आईसियु कक्ष स्थापना गर्ने बताए ।
पाँच बेडको आईसियुका लागि आवश्यक पर्ने ४० देखि ५० लाख रुपियाँ लाग्ने हुँदा त्यसको लागि विभिन्न संघ संस्थासँग कुरा भईरहेको र अन्यबाट सहयोग प्राप्त नभए आफ्नै व्यक्तिगत खर्चमा सो कक्ष स्थापना गरेरै छाड्ने बताए ।
आईसियु नहुँदा तनहुँमै सबै प्रकारको उपचार सम्भव नभएको र त्यसकोलागि महंगो खर्च तिरेर पोखरा, भरतरपुर र राजधानी काठमाडौं लैजानु पर्ने बाध्यता रहेको र अहिले कोरोना संक्रमणबाट जोगाउन अत्याधुनिक आईसोलेशन समेत स्थापना गर्न नसकिएको हुँदा आफूले जतिसक्दो चाँडो आईसियु कक्ष स्थापना गर्न पहल गरेको सांसद श्रेष्ठले बताए ।











प्रतिक्रिया