८ मंसिर २०८३, मंगलबार

लकडाउनका बेला बालबालिकासँग के गर्ने ? यस्ता छन् विश्व स्वास्थ्य संगठनकाे सुझावहरू

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २० चैत । कोरोना भाइरस (कोभिड १९) का कारण एकान्तवासमा बस्दा बालबालिकाको बारेमा विशेष ध्यान दिन विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ ।

घरभित्रै थुनिएर बस्नुपर्दा, लामो समय विद्यालय नजाँदा तथा कोरोना भाइरसको डरका कुरा धेरै हुँदा बालबालिकामा असर पर्न सक्ने भएकोले अभिभावकले बालबालिकाबारे ख्याल गर्नुपर्ने विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले लकडाउनको बेला घरमै बस्दा योजना बनाएर बालबालिकालाई खुशी राख्न पहल गर्नुपर्ने बताएको छ । आमाबाबुको लागि विभिन्न सुझाव दिँदै विश्व स्वास्थ्य सङ्गठनले बालबालिकासँग खेल्ने, गीत सुन्ने, नाच्ने लागयतका क्रियाकलाप गर्न सुझाव दिएको छ ।

बालबालिकासँग मिलेर खाना पकाउने र व्यायमहरु गर्दा पनि बालबालिका खुशी हुने विश्व स्वास्थ्य सङ्गठनको भनाइ छ । बालबालिकालाई निश्चित समय दिएर पढ्ने, चित्र कोर्ने जस्ता काममा पनि लगाउन सुझाव दिइएको छ ।

बालबालिकालाई कोरोना रोगको बारेमा जानकारी दिएर डराउनुपर्दैन तर हाम्रो व्यवहार सुधार गर्नुपर्छ भन्ने बुझाउन पनि विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ ।

विभिन्न खबरहरू हेर्दा तथा सुन्दा बालबालिकामा नकरात्मक असर पर्ने भएकोले उनीहरूका लागि आवश्यक सूचना मात्र दिएर हात धुने, मानिससँग दुरी कायम गर्ने जस्ता व्यवहार सिकाउनुपर्ने बताइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले हरेक दिनको योजना बनाएर बालबालिकालाई समय दिन, सकारात्मक रहन, घरमा धेरै डराएको कुराकानी तथा व्यवहार नगर्न, खराब व्यवहारहरुबाट टाढा रहन, तनाव व्यवस्थापन गर्न र कोरोनाबारेमा जानकारी दिन सुझाव दिएको छ । यो समयलाई आफ्नो र आफ्ना बालबालिकाको फाइदामा प्रयोग गर्न विश्व स्वास्थ्य सङ्गठनले भनेको छ ।