६ कार्तिक २०८३, शुक्रबार

टेकुले चार दिनमा बनायो २० शय्याको आइसियू

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । देशकै एक मात्र सरुवारोग अस्पताल टेकुले चार दिनमा २० शय्याको आइसीयू तयार गरेको छ । सय शय्याको टेकुमा चार आइसियू यसअघि नै थिए । अस्पतालका सबै बिरामी अन्यत्र पठाएर बाँकी ९६ शय्यालाई आइसोलेसन बनाइँदै छ ।

५ चैतमा स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको उपचार गर्न टेकुलगायत चार अस्पताललाई छुट्टै आइसियू तयार गर्न पत्र पठाएको थियो । टेकुमा ४०, पाटन, सशस्त्र र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २०–२० शय्या गरी एक सय २० शय्या आइसियू थप्ने निर्देशन भए पनि टेकुबाहेकका अस्पतालले प्रक्रियासमेत अघि बढाएका छैनन् ।

‘चीनमा कोरोना संक्रमण देखिएसँगै हामीले पूर्वतयारी थालेका थियौँ’, टेकु अस्पतालका प्रशासन प्रमुख रूपनारायण खतिवडाले भने, ‘बेड अभाव नहोस् भनेर उपकरण नियमित खरिद गर्ने सप्लायर्सलाई तयारी अवस्थामा रहन भनिएको थियो ।’

अस्पतालका अनुसार आइसियू सञ्चालनका लागि आवश्यक २० बेड, २० प्यासेन्ट मनिटर, ११ भेन्टिलेटर, एक पोर्टेबल एक्सरे, एक पोर्टेबल अल्ट्रासाउन्डलगायत ५१ प्रकारका उपकरणमध्ये ९५ प्रतिशत आइसकेका छन् । अस्पतालले चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाका सबै उपायसमेत अपनाएको जनाएको छ ।

निजी संस्था निक साइमनले टेकु अस्पतालाई शुक्रबार मात्रै १० भेन्टिलेटर र स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षामा प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) एक हजार थान सहयोग गरेको छ । अस्पतालले कर्मचारीको सुरक्षाका लागि पिपिई पुनः प्रयोग गर्न मिल्ने उपकरणको तयारी गरेको छ । संक्रमण हुन नदिन २५ सय लिटर फर्मा्लिन हाइड तयारी अवस्थामा राखेको छ ।

टेकु अस्पतालमा रहेका अन्य रोगका बिरामीलाई वीर र शिक्षण अस्पतालमा रेफर गरिएको छ । प्रशासन प्रमुख रूपनारायण खतिवडाका अनुसार कुकुरले टोकेका बिरामीलाई भने जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंमा पठाइनेछ । अस्पताललाई तत्काल कोरोना संक्रमितको उपचारका लागि ६ जना एनेस्थेसिया, आठजना मेडिकल अफिसर, चारजना नर्सिङ अफिसर र २६ जना स्टाफ नर्स राखिने भएको छ । आवश्यक जनशक्ति पाँच दिनभित्र राख्नुपर्नेछ ।

१० अस्पताललाई कोरोना परीक्षणको अधिकार दिन प्रस्ताव

कोरोना भाइरसको परीक्षण हाल टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै हुँदै आएको छ । प्रयोगशालाले अन्य १० अस्पताललाई पनि परीक्षण अधिकार दिन सकिने प्रस्ताव स्वास्थ्य मन्त्रालयलाई गरेको छ ।

प्रदेश १ का विराटनगरस्थित कोसी अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई परीक्षण अनुमति दिन सकिने प्रस्ताव छ । प्रदेश २ मा वीरगन्ज अस्पताल र जनकपुर अस्पतालको सूची बुझाइएको छ । प्रदेश ३ मा भरतपुर अस्पताल र गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परीक्षण गर्न सक्ने प्रस्ताव छ । प्रदेश ५ मा नेपालगन्जको भेरी अस्पताल र बुटवल अस्पताल छनोट गरिएको छ । कर्णालीमा सुर्खेत अस्पताल र सुदूरपश्चिममा सेती अस्पताललाई परीक्षण अधिकार दिन सकिने प्रस्ताव सूची तयार भएको छ ।

स्रोतका अनुसार प्रस्तावित सूचीमा छलफलपछि निर्णय हुनेछ । प्रयोगशालाको प्रस्ताव मन्त्रालयले स्वीकारे ती अस्पताललाई कोरोना परीक्षणका लागि आवश्यक किट र उपकरण उपलब्ध गराउने प्रक्रिया अघि बढ्नेछ ।

बिदाको दिन पनि काम गर्न सहसचिव र विभागीय प्रमुखलाई स्वास्थ्यको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूमातहतका सहसचिव र विभागीय प्रमुखलाई बिदाको दिन पनि काम गर्न निर्देशन दिएको छ । कोरोना भाइरसको संक्रमण रोक्नेसम्बन्धी जिम्मेवारीका काम बिदामा पनि गर्न निर्देशन दिइएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उपसचिव तथा शाखा अधिकृतहरूलाई समेत उपत्यका नछाड्न निर्देशन भएको बताए ।

मन्त्रालयले स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, आन्तरिक प्रशासन शाखा स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा कार्यरत सहसचिव तथा विभागीय प्रमुखलाई बिदाको दिन पनि काम गर्न निर्देशन दिएको हो ।

त्यस्तै, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, कान्ति बाल अस्पताल, मानसिक अस्पताल, नरदेवी आयुर्वेद चिकित्सालय, पशुपति होमियोप्याथिक चिकित्सालय र राष्ट्रिय औषधि प्रयोगशालाका सहसचिव र विभागीय प्रमुखलाई पनि बिदा नबस्न निर्देशन भएको छ ।