३० आश्विन २०८३, शुक्रबार

राम्रो काम गरें तर प्रचार गलत रुपमा भयो : ऊर्जा मन्त्री ज्ञवाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

RADHA-Gyawoliकाठमाडौँ, २४ फागुन । ऊर्जा मन्त्री राधा ज्ञवालीले कतिपय सञ्चार माध्यमले आफूले गरेको राम्रै कामलाई अवमूल्यन हुने गरीे समाचार सम्प्रेषण गर्दै आएको गुनासो गर्नुभएको छ ।

वर्तमान सरकारको एक वर्षे कार्यकालमा सबैभन्दा उपलब्धिपूर्ण कार्य सम्पादन ऊर्जा मन्त्रालयले गरेको सार्वजनिक भइसकेको परिस्थितिमा समेत केही सञ्चार माध्यमले गलत ढङ्गबाट समाचार सम्प्रेषण गरिरहेको उहाँको दाबी छ ।

“यद्यपि चौथो अङ्गलाई म सम्मान गर्दछु । गलत समाचार सम्प्रेषणले महिलाप्रति हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन आएको छैन भन्ने परिणाम हो भन्ने बुझेकी छु,” मन्त्री ज्ञवालीले अगाडि भन्नुभयो, “कतिपय पत्रिकाले ९९ प्रतिशत गलत र एक प्रतिशत सत्य समाचार सम्प्रेषण गरिरहेका छन् । त्यो एक प्रतिशत सत्य भनेको पनि ऊर्जा मन्त्री राधा ज्ञवाली भन्नेमात्रै हो ।”

आफूले गरेका क्रियाकलाप हरेक हिसाबले ९९ प्रतिशत गलत छ भन्ने ढङ्गबाट समाचार प्रवाह भइरहेको मन्त्री ज्ञवाली गुनासो छ ।

उहाँले भन्नुभयो – जनताको समृद्धिको बाटोमा ऊर्जा क्षेत्रको भूमिकालाई खरोसँग उतार्नु परेको छ भनेर आत्माले भनेको छ । त्यसकारण कुनै पनि विरोध र आलोचनाले ऊर्जा क्षेत्रको विकासमा लाग्ने मेरो दृढतालाई विचलित बनाउन सक्दैन ।

भारतसँग विद्युत् व्यापार सम्झौता (पिटिए) भएपछि मुलुकको ऊर्जा क्षेत्रको विकासमा सकारात्मक थालनी भएको दाबी गर्दै शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री ज्ञवालीले भन्नुभयो, “वर्तमान सरकारले सार्वजनिक गरेको एक वर्षे कार्यकालको उपलब्धिमा सबैभन्दा ठूलो उपलब्धि ऊर्जालाई उल्लेख गरेको छ ।”

सरकारले हालै सार्वजनिक गरेको एक वर्षे कार्यकालको समीक्षामा ऊर्जा क्षेत्रमा ऐतिहासिक सुरुवात भएको उल्लेख गरेको छ । भारतसँग पिटिए भएको, माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग परियोजना विकास सम्झौता (पिडिए) भएको जस्ता कामलाई सरकारले ऐतिहासिक सुरुवातका रुपमा चित्रण गरेको छ ।

यस्तै, विगत २२ वर्षदेखि अगाडि बढ्न नसकेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम सुरु भएको छ । सो आयोजनालाई अगाडि बढाउन र नेपाल र भारत दुवै मुलुकका अधिकारी रहने गरी पञ्चेश्वर विकास प्राधिकरणसमेत गठन भएको छ ।

त्यस्तै, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ शिखर सम्मेलनका क्रममा समेत यस क्षेत्रमा ऊर्जा व्यापार गर्ने सम्झौता भएको थियो । वैकल्पिक ऊर्जा क्षेत्रको विकासमा पनि ठोस काम भएको उहाँको दाबी छ ।

मुलुकको अधिकतम हित र ऊर्जाको विकासका लागि आफूले जस्तोसुकै चुनौतीको सामना गर्नु परेपनि पछि नहट्ने अठोट व्यक्त गर्दै उहाँले भन्नुभयो, “मुलुकको अथाह सम्पत्तिका रुपमा रहेको पानीलाई ऊर्जामा परिणत गरेर ऊर्जामार्फत नागरिकलाई समृद्ध तुल्याउन म प्रतिबद्ध छु ।” रासस