५ कार्तिक २०८३, बिहिबार

चीनमा क्वारेन्टाइन राखिएको होेटल भत्कियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन ।   दक्षिणी चीनको फुजिएन प्रान्तमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिहरूको सम्पर्कमा आएका मानिसलाई क्वारन्टीनमा राख्न प्रयोग गरिएको एउटा होटल भत्किएको अधिकारीहरूले बताएका छन्।

च्वान्जू नगरस्थित उक्त पाँचतले होटल भत्किँदा भग्नावशेषमा झन्डै ७० जना फसेका थिए। तीमध्ये ४७ जनालाई बाहिर निकालिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ। भवन भत्किनुको कारण तथा कसैको मृत्यु भए वा नभएको स्पष्ट छैन।

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले सङ्क्रमित व्यक्तिहरूसँग प्रत्यक्ष सम्पर्कमा आएका तिनका आफन्तलाई त्यहाँ अलग्गै निगरानीमा राखिएको थियो। उक्त होटल सन् २०१८ मा खुलेको र त्यसमा ८० वटा अतिथिकक्ष भएको बताइन्छ।

शुक्रवारसम्म फुजिएनमा झन्डै ३०० जनामा सङ्क्रमण भएको पुष्टि भएको थियो। त्यहाँ झन्डै ११,००० जनालाई निगरानीमा राखिएको थियो।