
भैरहवा, २४ फागुन । स्थलमार्ग भएर नेपालमा सबैभन्दा बढी पर्यटक भित्रने नाकामा रुपन्देहीको बेलहिया नाका अग्रस्थानमा रहन्छ । पछिल्लो समय चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण विभिन्न देशमा तीव्र गतिमा फैलिरहेको अवस्थामा भारतको बिभिन्न राज्यमा पनि तिव्र गतिमा फैलने क्रममा छ ।
नेपालमा अहिलेसम्म यसको महामारी नरहेपनि सम्भावित जोखिम भने कायम रहेको छ । भारतसंग जोडिएको बेलहिया नाकामा सम्भावित जोखीम न्युनिकरणको लागि अपनाउनु पर्ने पर्याप्त सर्तकता अपनाइएको छैन । जसले गर्दा महामारीको त्रास यो नाका आसपास छाएको छ ।
पर्यटकीय आगमनले रुपन्देही महत्वपूर्ण जिल्ला हो । विभिन्न देशका स्थलमार्ग भएर आउने सबै भन्दा बढी पर्यटक यही नाकाबाट भित्रिने गरेका छन् । यस्तै विश्व आस्थाको केन्द्र गौतमबुद्धको जन्मस्थल लुम्बिनी पनि यसै जिल्लामा रहेको छ । यसले गर्दा रुपन्देहीमा पर्यटकहरुको आवागमन बढी हुने गर्छ ।
तीव्र गतिमा विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको रोकथामका लागिल पर्याप्त सर्तकता अपनाउन यसको प्रभावकारी व्यवस्थापन हुन सकेको छैन । कोरोनाकै त्रासलाई हेर्दै प्रदेश ५ सरकारले आफ्नो महत्वपूर्ण कार्यक्रमहरु स्थगित गरेको छ भने बढी भिड हुने कार्यक्रमहरु समेत नगर्न आग्रह गरेको छ ।
प्रदेश ५ कै निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यस्ता कार्यक्रम नगर्न आव्हान गर्नुको साथै यस सम्बन्धि जनचेतना फैलाउने काम गरिरहेको दावी गरेको छ । बेलहिया नाकामा हेल्थ डेस्क स्थापना गरिएपनि फितलो व्यवस्थापनका कारण जोखिम उत्तिकै रहेको छ ।
पर्यटक सुचना केन्द्रको सानो प्रतिक्षालयमा कोरोनाकै बिभिन्न फ्लेक्सहरुले घेरेर कामचलाउ रुपमा डेस्क राखिएको छ । पर्यटकहरु नेपाल छिर्दा हेल्थडेस्क हुँदै अध्यागमनमा प्रवेशाज्ञा लिनुपर्नेमा सिधै अध्यागमन कार्यालयमै पुग्ने गरेका छन् । यसले अध्यागमनका कर्मचारीहरुको जोखिम पनि बढाएको छ ।
बेलहियामा रहेको हेल्थडेस्कमा चेकजाँचको क्रममा कोही शंकास्पद देखिए उनीहरुलाई भैरहवाको भिम अस्पताल तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा थप चेकजाँचको लागि पठाउने व्यवस्था गरिए पनि कडाईका साथ लागु गर्न नसक्दा जोखीम बढेको हो ।
भीम अस्पताल भैरहवाका मेडिकल सुपरिटेण्डेण्ट डा. नविन दर्नालले भिम अस्पतालमा दुई वटा बेड सहितको आएसोलेसन रुम तयारी अवस्थामा रहेको जानकारी दिएका छन् ।
जिल्लाको बिमानस्थलमा हेल्थडेस्क स्थापना गर्ने निर्णय गरेको जनाए पनि निर्णय भएको एक महिना पछि पनि विमानस्थलमा डेस्क स्थापना गरिएको छैन् । यसले विभिन्न मुलुकका कोरोना संक्रमित पर्यटकहरु नेपाल भित्रिने आशंका उत्तिकै रहेको सरोकारवालाको चिन्ता छ ।














प्रतिक्रिया