१३ कार्तिक २०८३, शुक्रबार

को हुन् इनम सापकोटा ? जसले राज्य नै तरंगित बनाइदिए

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–खिम घले

सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको अन्तर्वार्ता पढेपछि लाग्यो– हाम्रो राज्य संयन्त्रमा रहेका व्यक्तिहरू कति निरीह रहेछन् ! हामीले विश्वास गरेको राज्य कति निरीह बनाइएको रहेछ !

३१ वर्षीय विचौलिया युवा इनम सापकोटासँगको सम्पर्क, सम्बन्ध र भेटघाटबारे न्यायाधीश फुयाँलले बताएका कुराले एउटा गम्भीर प्रश्न उठाएको छ– गफ दिने र फुर्ती लगाउने विचौलियाले कसरी पूरै राज्यलाई नै त्राहिमाम बनाउन सक्छन् ? एउटा सामान्य विचौलियाको वास्तविकता पहिचान गर्न नसक्ने हाम्रा संयन्त्रहरू कस्ता रहेछन् ?

भारतीय दूतावासमा गोप्य रूपमा काम गरिरहेको र प्रधानमन्त्रीसँग निकट सम्बन्ध रहेको दाबी गर्ने व्यक्तिले ठूलाबडाको नाम लिएपछि न्यायाधीश, प्रहरी तथा सैनिक अधिकारी र राजनीतिक वृत्तसमेत कसरी एकैसाथ तरंगित हुँदो रहेछ भन्ने कुरा यो घटनाले देखाएको छ ।

को हुन् इनम सापकोटा ?

उच्चपदस्थ अधिकारी, न्यायाधीश र थुनामा रहेका हाइप्रोफाइल व्यक्तिहरूबीच गैरकानुनी ‘नेक्सस’ अर्थात् सम्पर्क र सूचना आदानप्रदान गराउने विचौलियाका रूपमा अनुसन्धानमा तानिएका ३१ वर्षीय युवक हुन्, इनम सापकोटा । झापाको दमक घर भएका उनले उच्च अधिकारीहरूमाझ आफूलाई भारतीय दूतावासका चिकित्सकका रूपमा चिनाएको बताइएको छ ।

न्यायाधीशहरूलाई प्रभावित पारेर अदालतमा मुद्दा मिलाउने आश्वासन दिने, सरुवा–बढुवा, ठेक्कापट्टा तथा विदेशमा सम्पत्ति व्यवस्थापनजस्ता गम्भीर विषयमा लबिङ गर्ने गरेको आरोप उनीमाथि लागेको छ । विभिन्न प्रमाण तथा सूचनाका आधारमा अनुसन्धान अघि बढेपछि उनी प्रहरी हिरासतमा पुगेका छन् । उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा समेत अनुसन्धान भइरहेको छ ।

न्यायाधीशहरूमा महाअभियोगको त्रास र सापकोटाको प्रवेश

फुयाँलले दिएको अन्तर्वार्ताअनुसार, घटनाको सुरुआत न्यायपालिकाभित्र केही न्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव लैजाने चर्चा र त्यसले सिर्जना गरेको मानसिक त्रासको वातावरणबाट भएको देखिन्छ ।

यही राजनीतिक तथा पेसागत असुरक्षाको अवस्थालाई सदुपयोग गर्दै इनम सापकोटा न्यायाधीशहरूसम्म पुग्न सफल भएको विवरण सार्वजनिक भएको छ । उनले आफूलाई प्रधानमन्त्री बालेन्द्र शाहको मानिस, सत्तारूढ दलका सभापतिसम्म पहुँच भएको व्यक्ति तथा छिमेकी देशका चिकित्सक र दूतावासमा गोप्य रूपमा काम गर्ने कर्मचारीका रूपमा चिनाउँदै महाअभियोगबाट उन्मुक्ति दिलाउने आश्वासन दिएको बताइएको छ ।

यही पहुँचको दाबीका आधारमा उनले न्यायाधीशहरूसँग सम्बन्ध विस्तार गरे र न्यायिक प्रक्रियालाई प्रभावित पार्न खोजेको आरोप लागेको छ ।

सुरक्षा निकाय र सरकारमा समेत प्रभाव

यो प्रकरण न्यायपालिकामा मात्र सीमित रहेन । प्रहरी र सेनाका प्रमुखहरूसँग समेत सापकोटाको सम्बन्ध रहेको दाबी सार्वजनिक भयो । उनले प्रहरी महानिरीक्षक र प्रधानसेनापतिसँग आफ्नो निकट सम्बन्ध रहेको बताउने गरेको विवरण बाहिर आएको छ ।

न्यायाधीशहरूले अनौपचारिक रूपमा प्रहरी प्रमुखको सचिवालयमा बुझ्न खोज्दा उताबाट समेत ‘उनी हाइप्रोफाइल मानिस हुन्, जोगिएर बस्नुस्’ भन्ने आशयको जवाफ आएको विवरणले स्थिति थप रहस्यमय बनाएको देखिन्छ ।

अन्ततः दबाब र अन्योल बढेपछि न्यायाधीशहरूले नै सापकोटाको तस्वीर, फोन नम्बर र कुराकानीका प्रमाणसहित प्रधानमन्त्रीको सचिवालय तथा प्रधानसेनापतिको सचिवालयमा विवरण पठाएर जानकारी गराएको बताइएको छ । यस क्रममा उनले ती निकायसम्म पनि आफ्नो पहुँच रहेको दाबी गरेको विषय थप चर्चामा आयो ।

एउटा व्यक्तिले आफूलाई शक्तिशाली व्यक्तिहरूसँग जोडेर प्रस्तुत गर्दा राज्यका महत्त्वपूर्ण अंगहरूमा समेत यस्तो अन्योल सिर्जना हुन सक्नु आफैँमा गम्भीर विषय हो ।

तर, अन्ततः हिरासतमा!

लामो समयदेखि नेताहरूका निकटवर्तीका रूपमा विभिन्न विचौलियाको नाम चर्चामा आइरहन्थ्यो । त्यसमध्ये केही अहिले हिरासतमा छन्, कोही धरौटीमा छुटेका छन् भने कतिपयका गतिविधिबारे अझै अनुसन्धान हुन बाँकी छ ।

तर अन्य विचौलियाको तुलनामा सापकोटाको उमेर मात्र कम छैन, उनी एकाएक प्रभावशाली र पहुँचवाला व्यक्तिका रूपमा देखापरेको घटनाले पनि ध्यान खिचेको छ । उनले गरेको भनिएको पहुँचको दाबी र त्यसले सिर्जना गरेको अन्योलले राज्य सञ्चालनका प्रमुख अंगहरूमा समेत भ्रम र त्रासको वातावरण बन्न सक्ने देखाएको छ ।

यद्यपि, जतिसुकै पहुँचको दाबी गरे पनि अन्ततः उनी प्रहरी हिरासतमा पुगेका छन् । अब अनुसन्धानले उनको वास्तविक भूमिका, सम्पर्क सञ्जाल र उनीमाथि लागेका आरोपको सत्यतथ्य सार्वजनिक गर्नुपर्नेछ ।

यो त एउटा उदाहरण मात्र हो

इनम सापकोटा प्रकरण केवल एक व्यक्तिको ठगी वा सम्पर्क सञ्जालको कथा मात्र होइन । यो राज्यका शक्ति केन्द्रहरूलाई नै तरंगित बनाउन सक्ने पहुँचको दाबी र त्यसबाट सिर्जना हुने मनोवैज्ञानिक प्रभावको उदाहरण पनि हो ।

यस घटनाले राज्यका उच्चपदस्थ अधिकारीहरू बिचौलियाको मनोवैज्ञानिक जालझेलबाट जोगिनुपर्ने आवश्यकता स्पष्ट पारेको छ । विगतमा पनि यस्ता विचौलियाको चलखेलका कथा सार्वजनिक नभएका होइनन् । तर एउटा व्यक्तिको पहुँचको दाबीले न्यायपालिका, प्रहरी, सेना र राजनीतिक वृत्तसम्म एकैपटक तरंग पैदा गर्न सक्ने अवस्थाले राज्यका संस्थागत संयन्त्रको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ ।

राज्यका महत्त्वपूर्ण पदमा बसेका व्यक्तिहरूले कसैको परिचय, सम्बन्ध र पहुँचको दाबीलाई नै सत्य मानेर धारणा बनाउने हो भने संस्थागत निर्णय प्रक्रिया कमजोर हुन सक्छ। वास्तविकता पहिचान गर्ने र गलत सूचना तथा अनावश्यक दबाबबाट संस्थालाई जोगाउने संयन्त्र प्रभावकारी हुनैपर्छ ।

इनम सापकोटा प्रकरणले देखाएको मुख्य कुरा यही हो– कहिलेकाहीँ राज्यलाई तरंगित बनाउन वास्तविक शक्ति नै आवश्यक पर्दैन, शक्तिशाली भएको भ्रम सिर्जना गर्न सक्ने क्षमता नै पर्याप्त हुन सक्छ । (पत्रकार घलेले सामाजिक सञ्जालमा सार्वजनिक गरेको धारणा)