१३ कार्तिक २०८३, शुक्रबार

एम्बाप्पे विवाद : अब चिनियाँ टिभीमा नदेखिने भयो स्पेनिस लिगको खेल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । किलियन एम्बाप्पे, रियल म्याड्रिड र ला लिगाले माओ त्सेतुङबारे ती फ्रान्सेली स्ट्राइकरले दिएको टिप्पणीका लागि माफी मागेका छन् । तर विज्ञहरूका अनुसार यस घटनाले चीनमा उनीहरूको प्रतिष्ठामा पुर्‍याएको क्षति सजिलै वा छिटो सुध्रिने छैन ।

विश्वकै उत्कृष्ट फुटबलरहरू मध्ये एक तथा फ्रान्सेली टोलीका कप्तान एम्बाप्पे अहिले विवादको केन्द्रमा छन् । यसै साता सार्वजनिक भएको एउटा भिडियोमा उनी पूर्वनेता माओको खिल्ली उडाउँदै गरेको जस्तो देखिएपछि यो विवाद उत्पन्न भएको हो ।

एमबाप्पेले एउटा इन्टरनेट ‘मिम’को बारेमा कुरा गरे, जसमा उनको अनुहारलाई डिजिटल प्रविधिमार्फत अर्को एक व्यक्तिको शरीरमा राखिएको थियो, जसलाई उनले “चिनियाँ तानाशाह” जस्तो देखिने व्यक्ति भनेका छन् । माओलाई आधिकारिक रूपमा कम्युनिष्ट क्रान्तिका नायक र जनवादी गणतन्त्र चीनका संस्थापकका रूपमा सम्मान गरिन्छ ।

इतिहासकारहरूले लाखौं मानिसको मृत्युका लागि माओलाई जिम्मेवार ठान्छन् तर सार्वजनिक रूपमा उनको खिल्ली उडाउनु वर्जित मानिन्छ । एमबाप्पेको यो टिप्पणीका कारण उनी बेइजिङलाई आक्रोशित पार्ने पछिल्ला विदेशी खेलकुद हस्ती वा संस्था बनेका छन् ।

चीनका प्रमुख ब्रान्डहरूले २७ वर्षीय यी खेलाडीसँगको सम्बन्ध तोडेका छन् र स्पेनिस शीर्ष लिगका खेलहरू अब चिनियाँ सरकारी टेलिभिजन ‘सीसीटीभी’को प्रसारण तालिकाबाट हटाइने भएका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरू एमबाप्पेको कडा आलोचना गर्न अघि सरे, यद्यपि उनले वास्तवमा के भनेका थिए भन्ने कुरा उनीहरूलाई राम्ररी थाहा थिएन ।

चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र र सबैभन्दा आकर्षक बजार हो । अप्रिल महिनामा खिचिएको भनिएको एउटा भिडियो अनलाइनमा भाइरल भएको दुई दिनभित्रै, ती स्ट्राइकर उनको क्लब ‘रियल म्याड्रिड’ र ‘ला लिगा’ले माफी मागेका छन् । चीनको विदेश मन्त्रालयका एक प्रवक्ताले सरकारले एमबाप्पेको माफीलाई “गम्भीरतापूर्वक” लिएको बताएका छन् ।

के यससँगै यो विषय टुंगियो त ?

अनुभवी खेलकुद टिप्पणीकार यान कियाङले भने, “शान्त, वस्तुनिष्ठ र भावनामुक्त दृष्टिकोणबाट हेर्दा, यो स्पष्ट रूपमा अत्यन्त हानिकारक घटना हो, मोबाइल इन्टरनेटको युगमा, सामाजिक सञ्जालमा कुनै पनि विषय निकै छिटो भाइरल हुन्छ र मानिसहरूको भावना तीव्र रूपमा उम्लिन्छ । माफी माग्दैमा कुनै विवाद वा घटनाको पूर्ण अन्त्य हुन्छ भन्ने छैन । माफी नमाग्नुभन्दा माफी माग्नु राम्रो हो, तर यसले पक्कै पनि उक्त घटनालाई पूर्णविराम लगाउँदैन ।”

यस्तो तीव्र प्रतिक्रिया र त्यसपछिका परिणामहरू नौला कुरा होइनन् । चीनका लागि राजनीतिक रूपमा संवेदनशील मानिने विषयहरूमा टिप्पणी गर्दा विभिन्न विदेशी खेलकुद लिग वा खेलाडीहरू ठूलो विवादमा फसेका उदाहरणहरू छन् ।

सन् २०१९ मा ह्युस्टन रकेट्सका तत्कालीन महाप्रबन्धक ड्यारिल मोरीले हङकङका प्रदर्शनकारीहरूको समर्थनमा ट्वीट गरेपछि, चीनले संयुक्त राज्य अमेरिकाको नेसनल बास्केटबल एसोसिएसनसँगको सम्बन्ध लगभग तोडेको थियो । बास्केटबल एसोसिएसनका उच्च अधिकारीहरूले मोरीलाई अभिव्यक्ति स्वतन्त्रताको अधिकार रहेको बताएका थिए । यसको ठीक विपरीत, ‘ला लिगा’ले भने एमबाप्पेको भनाइबाट तुरुन्तै आफूलाई अलग गर्‍यो ।

चीनमा फुटबलसँगै बास्केटबल पनि सबैभन्दा लोकप्रिय खेलहरूमध्ये एक हो । तर, मोरीको उक्त टिप्पणीका कारण एक वर्षभन्दा बढी समयसम्म चिनियाँ टेलिभिजनबाट बास्केटबल एसोसिएसनका खेलहरू हटाइएका थिए । गत वर्ष मात्रै बास्केटबल एसोसिएसनका प्रि-सिजन खेलहरू पुनः चीनमा फर्किएका हुन् ।

अस्ट्रेलियन नेसनल युनिभर्सिटीकी प्राध्यापक डेबी चानले बास्केटबल एसोसिएसनको घटनार अहिले एमबाप्पेसँग जोडिएको घटनालाई चीनको ‘उपभोक्ता राष्ट्रवाद’को उदाहरणका रूपमा व्याख्या गरेकी छिन् । यसमा अनलाइनमा देखिने जनभावना र सरकारी सञ्चारमाध्यमहरू एकै ठाउँमा मिसिएर “आक्रोशको एक चक्र”सिर्जना गर्छन् ।

बास्केटबल एसोसिएसनका कमिसनर एडम सिल्भरले बताएअनुसार, यस विवादका कारण लिगले “सयौं मिलियन डलर” गुमाउनुपरेको थियो ।

के एम्बाप्पे, रियल म्याड्रिड र ला लिगाका लागि अब पछाडि फर्कने कुनै बाटो छैन ?

ला लिगाको एक स्रोतले एएफपीलाई बताएअनुसार अन्तर्राष्ट्रिय प्रसारण अधिकारको “अधिकांश” हिस्सा चीन र अमेरिकाबाट मात्र प्राप्त हुन्छ । सन् २०२४–२५ सिजनका लागि यसको मूल्य ७४८ मिलियन युरो (८३४ मिलियन अमेरिकी डलर) तोकिएको थियो ।

रियल म्याड्रिडसँग निकट मानिने ‘मार्का’ पत्रिकाका अनुसार म्याड्रिड क्लबले आफ्नो जर्सी र अन्य सामग्रीको बिक्रीबाट हुने आम्दानीको १० देखि १५ प्रतिशत हिस्सा चीनबाट प्राप्त गर्छ ।

“यदि त्यो प्रभावलाई कायम राख्न सकिएन भने व्यावसायिक हितको कुरा त परै जाओस्, ला लिगा र रियल म्याड्रिड दुवै नराम्ररी प्रभावित हुनेछन्,” यानले भने । अब के हुन्छ भनेर अनुमान लगाउन “वास्तवमै कठिन” छ ।

“छोटो अवधिको कुरा गर्ने हो भने, म पक्कै पनि आशावादी छैन,” उनले भने, “यदि उनीहरू आफ्नो छवि र सम्बन्ध सुधार्न चाहन्छन् भने, उनीहरूका आगामी कदम र व्यवहार नै निर्णायक हुनेछन् ।”

रियल म्याड्रिडका मुख्य प्रायोजकहरूमा चिनियाँ कम्पनीहरू पनि समावेश छन्, जसमा हाइसेन्स, खेलकुद सट्टेबाजी कम्पनी ‘काइयुन स्पोर्ट्स’ र ‘लिङलोङ टायर’ प्रमुख छन् ।

बेइजिङस्थित ‘की-सोलुसन स्पोर्ट्स कन्सल्टिङ’ का संस्थापक एडम झाङका अनुसार, तत्काल र हृदयदेखि नै पछुतो व्यक्त गर्नु यस समस्या समाधानको पहिलो कदम हुनेछ ।

उनले एएफपीलाई भने, “यसले प्रसारणमा लगाइएको प्रतिबन्धलाई निरन्तरता दिने कि नदिने र यदि दिने हो भने कति लामो समयसम्म दिने भन्ने निर्णयमा प्रभाव पार्नेछ ।”

खेलकुद टिप्पणीकार यानले एम्बाप्पेको प्रतिष्ठा फेरि पहिले जस्तै बन्न सक्ला कि नसक्ला भन्नेमा शंका व्यक्त गरे । चीनमा पेय पदार्थका बोतलहरू र विभिन्न विज्ञापन अभियानहरूमा एम्बाप्पेको तस्वीर प्रयोग गरिएको थियो । उनले भने, “विश्वकपका बेला उनले गरेका व्यावसायिक प्रायोजन र ठूला विज्ञापन अभियानहरूलाई हेर्दा चीनमा उनको ठूलो प्रभाव रहेको देखिन्छ ।”