काठमाडौं, २३ फागुन । वैदेशिक रोजगार, आप्रवासन तथा यससँग सरोकार राख्ने विषयमा कलम चलाउँदै आएका पत्रकारहरुको संस्था वैदेशिक रोजगार पत्रकार समाजमा सर्वसम्मतिबाट नयाँ नेतृत्व चयन भएको छ ।
समाजको शनिवार सम्पन्न तेस्रो साधारणसभाबाट समाजका उपाध्यक्ष तथा नेपाल टेलिभिजनमा ‘युवा र रोजगार’ कार्यक्रम संचालक/निर्माता निरञ्जन ज्ञवालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।
साधारणसभाले सर्वसम्मतबाट बरिष्ठ उपाध्यक्षमा ताजा बहस दैनिकका सम्पादक/ प्रकाशक मानछिरिङ्ग तामाङ, उपाध्यक्षमा जनसवाल दैनिकका सम्पादक/प्रकाशक रामजी बगाले, महासचिवमा नेपाल टेलिभिजन प्लसमा ‘रोजगारका कुरा’ कार्यक्रम संचालक तथा निर्माता हरि थापा, सचिवमा नेपाल टेलिभिजनमा ‘रोजगारीका आवाज’ कार्यक्रम संचालक तथा निर्माता, अर्थ र रोजगार मासिकका सम्पादक उद्वब भट्टराई निर्वाचित भएका छन् ।
समाजको कोषाध्यक्षमा समकालिन साप्ताहिक पत्रिकाका सम्पादक रेशम पौडेल र सदस्यहरुमा कोमल दुलाल, घनश्याम आचार्य, रिना श्रेष्ठ चयन भएका छन् ।
समाजको निवर्तमान अध्यक्ष तथा मध्यान्ह दैनिकका सम्पादक मदन श्रेष्ठले नयाँ कार्यसमितिलाई कार्यभार सम्हाल्दै छोटो समयमा समाजलाई चिनाउन र स्वदेशदेखि विदेशसम्म विभिन्न कार्यक्रम गर्न सफल भएको बताए । समाजको सल्लाहकार समेत रहेका श्रेष्ठले आगामी दिनमा समेत समाजमा रचनात्मक साथ दिदै जाने प्रतिवद्धता जनाए ।
समाजको अध्यक्षको कार्यभार सम्हाल्दै ज्ञवालीले समाजको छवीलाई उँचो राख्दै वैदेशिक रोजगारसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु जनस्तरमा गर्ने बताए ।
समाजले वैदेशिक रोजगार तथा आप्रवासन सम्बन्धी विभिन्न कार्यक्रमहरु सरोकारवाला निकायसँग सहकार्य गर्दै आयोजना गर्ने, स्वदेश तथा विदेशमा जनचेतनाका कार्यक्रम गर्ने र सुरक्षित तथा मर्यादित वैदेशिक रोजगार बनाउन पैरवी गर्ने बताएको छ ।
















प्रतिक्रिया