महेन्द्रनगर, २३ फागुन । जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले आजबाट हात्तीपाइले रोगविरुद्धको तीन दिने अभियान सुरु गरेको छ ।
महाकाली अञ्चल अस्पतालका चिकित्सक आरबी चौधरीले नेपाल पत्रकार महासंघका सचिव केशव सावदलाई औषधि खुवाएपछि हात्तीपाईले रोग विरुद्धको अभियान औपचारिक रुपमा सुरु भएको हो ।
जनस्वास्थ्य कार्यालयको सभाकक्षमा आज बिहान आयोजित कार्यक्रममा सचिव सावदले कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत बलबहादुर महतलाई औषधि खुवाउनु भएको थियो ।
कञ्चनपुरका पाँच लाख ४६ हजार बढी मानिसहरुलाई औषधि खुवाउनका लागि स्वास्थ्यकर्मी, महिला स्वयंसेविका परिचालन गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
फागुन २३, २४ र २५ गतेका दिन देशका ४१ जिल्लामध्ये कञ्चनपुरमा समेत हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रमका लागि विभिन्न स्थानमा गरी दुई हजार एक सय ९१ केन्द्र निर्धारण गरिएका छन् ।
औषधि खुवाउनका लागि केन्द्रमा आठ सय ५० महिला स्वयम्सेविका, दुई सय ५० जना स्वास्थ्यकर्मी र अन्य गरी दुई हजार एक सय ९१ जनालाई परिचालन गरिएको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत महतले जानकारी दिनुभयो ।
गत वर्ष ६८ दशमलब ८८ प्रतिशत बासिन्दाले औषधि सेवन गरेकामा यस वर्ष ८० प्रतिशत बढीलाई औषधि खुवाइने जनस्वास्थ्य कार्यालयले लक्ष्य लिएको छ ।
जनस्वास्थ्य कार्यालयले संकलन गरेको विवरणअनुसार कञ्चनपुरमा बसोवास गर्ने २० प्रतिशत बढी बासिन्दा हात्तीपाइले रोगको उच्च जोखिममा रहेका छन् ।















प्रतिक्रिया