काठमाडौं, २२ फागुन । प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच संविधान निर्माण प्रक्रियालाई सहमतिका आधारमा अगाडि बढाउनका लागि सार्थक संवाद गर्ने विषयमा कुराकानी भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा शनिबार बिहान सत्तारुढ दल र विपक्षी मोर्चाकाबीचमा छलफल गर्ने सहमति भएको छ ।
गत माघ ११ गते संविधानसभाले प्रस्ताव समिति गठन गरेपछि दुई ध्रुवमा विभाजित सत्तारुढ दल र विपक्षी दलबीच सार्थक संवाद हुन सकेको थिएन ।
पछिल्ला दिनमा दलबीच अनौपचारिक संवाद भए पनि औपचारिक संवाद हुन सकेको थिएन । पटक पटकको अनौपचारिक संवाद पछि दलहरु सामूहिक वार्ताका लागि तयार भएका हुन् । एमाओवादी अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव चूडामणि खड्काका अनुसार शनिबार संविधान निर्माणका विषयमा साझा धारणा बनाउनका लागि संयुक्त छलफल गर्ने सहमति भएको छ ।
– गणतन्त्र दिवसमा संविधान जारी गर्ने विषयमा छलफल
बिहीबार मात्रै एमाओवादी नेतृत्वको तीसदलीय मोर्चाले औपचारिक संवाद गर्ने निर्णय गरेको थियो । मोर्चाको संयुक्त निर्णयका आधारमा आज प्रधानमन्त्री कोइरालासँग अध्यक्ष दाहालले संवाद गर्नुभएको हो ।
प्रमुख दलबीच संविधानका प्रमुख विवादित विषयमा सहमति नहुँदा गत माघ ८ गते संविधान जारी गर्ने भनिए पनि सफल हुन सकेको थिएन । दलबीच अनौपचारिक रुपमा आगामी जेठ १५ गते गणतन्त्र दिवसको दिन संविधान जारी गर्ने गरी छलफललाई अगाडि बढाइएको छ ।












प्रतिक्रिया